जेनजी आन्दोलनमा आगजानी र तोडफोड गर्नेलाई कार्वाही नहुँदा उद्योगीको मनोबल कमजोर भयो – चन्द्र ढकाल


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगजनी र तोडफोड गर्नेहरु कार्वाहीको दायरामा नआउँदा उद्योगी व्यवसायीको मनोबल कमजोर भएको बताएका छन् । गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता बढेको बताएका उनले लुटपाट र तोडफोडमा संलग्नलाई कार्वाही गर्न सरकारसँग माग गरे ।

महासंघले प्रधानमन्त्री सुशीला कार्कीसहित मुख्य दलका नेताहरुसँग आयोजना गरेको सर्वपक्षीय संवादमा ढकालले आन्दोलनका क्रममा गलत काम गर्ने उपर कार्वाही गर्न माग गरेका हुन् ।

लोकतन्त्रलाई संस्थागत गर्ने विधि पनर्वाचन भएको बताएका उनले सरकारको अग्रसरता र मेहनत प्रशंसनीय रहेको उल्लेख गरेका थिए । देश निर्वाचनमा अगाडि बढेको भन्दै उनले समृद्धिका लागि निजी क्षेत्रको संलग्नता भने अझै पनि ओझेलमा रहेको बताए । उनले भने, ‘निर्बाध रूपमा काम गर्ने वातावरण बनेको छैन, गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता बढेको छ ।’ निजी क्षेत्रको सम्मान नभएसम्म मुलुकमा लगानी नआउने बताएका उनले भने, ‘लगानीबिना रोजगारी हुँदैन । रोजगारी नभए आय बढ्दैन, स्वास्थ्य र शिक्षा सर्वसुलभ बनाउन राजस्व बढ्नु पर्छ । राजस्व बढ्न सरकार निजी क्षेत्रमैत्री हुनुपर्छ ।’

डेढ वर्षयता सरकार डेढ खर्ब घाटामा रहेको स्मरण गराउँदै उनले बैंकहरुमा ११ खर्ब लगानी तरलतामा बसिरहेको बताए । यस्तो लगानीयोग्य रकमको समुचित सदुपायेगमा सरकारले पहलकदमी लिनुपर्ने उनको भनाई थियो । राजस्वको रकमले चालु खर्च पनि नपुग्ने अवस्था आएको भन्दै उनले पूर्वाधारमा लगानी हुन नसकेको बताए । निजी क्षेत्रका पूर्वाधारमा अवरोध हुने गरेको भन्दै उनले प्रश्न गरे, ‘उद्योग कलकारखाना नभए रोजगारी कसरी सम्भव होला ?

सरकारले वर्षको ३ सयदेखि ३५ सय रोजगारी दिने र बाँकी सबै निजी क्षेत्रले दिने समेत अध्यक्ष ढकालले बताए । युवा विदेशिन बाध्य रहेको भन्दै उनले यस्ता विषयलाई उजागर गर्न महासंघले सर्वपक्षीय छलफल आयोजना गरेको उनले बताए ।

महासंघले शान्ति स्थायित्वमा सामूहिक पहल आवश्यक परेको उनको भनाइ छ । ‘हामीले सबै पक्षबाट सामूहिक प्रतिबद्धता चाहेका छौँ,’ उनले भने । युवा उद्यमशीलता विकास योजना कार्यान्वयनको माग गरे । तीन दशकदेखि शासन सत्ता सम्हालेका दललाई युवाका माग समीक्षा गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार  १६ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।