पेट्रोल र डिजेलको मूल्य घट्यो


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनले पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ १९ पैसा, डिजेलमा पाँच रुपैयाँ छ पैसा र हवाई इन्धनमा प्रतिलिटर आठ रुपैयाँ १५ पैसा घटाएको छ । एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँ ३५ पैसाले बढेर आएको छ ।

सोहीअनुसार निगम सञ्चालक समितिले खुद्रा बिक्री मूल्य समायोजन गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर चार रुपैयाँ, डिजेल/मट्टितेल प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर छ रुपैयाँ र अन्तरराष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको छ ।

नयाँ मूल्य बिहीबार बिहानदेखि लागू हुनेछ । एलपी ग्यासको खरिद मूल्य बढे पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ । निगमका अनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५८ रुपैयाँ र तेस्रो वर्गमा १५९ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, डिजेल/मट्टितेलको मूल्य क्रमशः १३४ रुपैयाँ ५० पैसा, १३६ रुपैयाँ र १३७ रुपैयाँ प्रतिलिटर तोकिएको छ । पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछ । दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल समेटिएका छन् ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार  ०७ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।