‘लौरो’ त्यागेर नयाँ राजनीतिक यात्रामा डा. न्यौपानेसहितका युवा टोली


काठमाडौंको कोटेश्वरस्थित महादेव ब्याङ्क्वेटमा आज आयोजित एक विशेष कार्यक्रमका बीच ‘लौरो’ अभियानु का प्रमुख नेतृत्वकर्ताहरूले सामूहिक रूपमा ‘लौरो’ त्यागु को घोषणा गरेका छन्।

डा. राकेश न्यौपानेको नेतृत्वमा सफलता बोगटी, राज तिमिल्सिना, सतिश सुवेदी तथा जेनजी अभियानका साहसी अभियन्ताहरू युवराज उपाध्याय र प्रकाश रावल लगायतको टोलीले अबको लडाइँ ‘लौरो’ चिन्हसँग नभई विचार र एजेन्डाको हुने प्रष्ट पारेका हुन्।

उक्त अवसरमा अभियन्ताहरूले सांकेतिक रूपमा आफूसँग रहेका लौरोहरू ज्येष्ठ नागरिकहरूलाई वितरण गर्दै ‘लौरो’ भ्रष्टाचारी सेकाउनका लागि होइन, हाम्रा आदरणीय बुवाआमाको सहाराका लागि हो’ भन्ने सन्देश दिएका थिए।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट ‘लौरो’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरेका डा। राकेश न्यौपानेले लौरोसँगको आबद्धता पूर्ण रूपमा त्याग गरेको घोषणा गरेका छन्।

उनले पार्टीका शीर्ष नेतृत्वले व्यक्तिगत स्वार्थका लागि अभियानलाई दुरुपयोग गरेको आरोप लगाउँदै अध्यक्षको कार्यशैलीप्रति कडा आपत्ति जनाए। डा. न्यौपानेले अध्यक्षलाई ‘रावण’ प्रवृत्तीसँग तुलना गर्दै आध्यात्मिक आवरणमा रहेर ३०० भन्दा बढी अभियन्ताहरूको भावनामा कुठाराघात गरेको टिप्पणी गरे।

उनले अबको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा उत्रने घोषणा गर्दै दीगो विकास, नागरिक सरकार र राष्ट्रवादी फोर्स निर्माणलाई आफ्नो मुख्य प्राथमिकतामा राखेका छन्। साथै, उनले स्थानीय ‘रामायण भजन मण्डली’ को अक्षय कोषका लागि ५१,००० रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाउँदै धर्म र संस्कृति जोगिए मात्र देश जोगिने विश्वास व्यक्त गरे।

कार्यक्रममा जेनजी आन्दोलनका फ्रन्टलाइन अभियन्ता प्रकाश रावलले भदौ २३ र २४ गते भएको ऐतिहासिक आन्दोलनको मर्मलाई अहिलेको सरकारले भुलेको गुनासो गरे। अछाम घर भएका रावलले आन्दोलनमा ७८ जनाले बलिदान दिएको र झन्डै ३ हजार नागरिक घाइते भएको स्मरण गराउँदै वर्तमान सरकारले शहीद परिवार र घाइतेहरूका लागि न्याय र राहतको ठोस काम गर्न नसकेको आरोप लगाए। उनले भ्रष्टाचारीलाई कारबाही र सुशासन कायम नभएसम्म सडकबाट खबरदारी जारी रहने चेतावनी दिए।

त्यसैगरी, जेन्जी आन्दोलनकै क्रममा दुईवटा गोली खाएका घाइते युवा अभियन्ता युवराज उपाध्यायले पनि ‘लौरो’ परित्यागको घोषणा गरेका छन्। कैलालीका उपाध्यायले सुशासन र भ्रष्टाचार अन्त्यका लागि रगत बगाएका युवाहरूको भावनाको अपमान भएको भन्दै अबको नेतृत्व विज्ञ र युवाहरूको हुनुपर्नेमा जोड दिए। उनले मागहरू पूरा नगरी गरिने निर्वाचनको औचित्यमाथि प्रश्न उठाउँदै नयाँ भिजनका साथ अगाडि बढ्ने संकेत गरे।

नुवाकोट क्षेत्र नं। १ बाट अघिल्लो निर्वाचनमा उम्मेदवार बनेकी सफलता बोगटीले पनि नेतृत्वले टिमलाई व्यवस्थापन नगरी आफ्नै स्वार्थमा पार्टी प्रवेश गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन्। उनले अब काठमाडौं क्षेत्र नम्बर ९ बाट उम्मेदवारी दिने तयारी गरिरहेको जानकारी दिँदै कुनै पनि निषेध र प्रतिशोधको राजनीतिबाट मुक्त भएर देश विकासका लागि युवाहरू एकजुट हुनुपर्ने बताइन्। उनले नेपाललाई औद्योगिक र आधुनिक बनाउने र युवाहरूलाई स्वदेशमै बस्ने वातावरण बनाउने मिसनका साथ आफूहरू एकीकृत भएको बताइन्।

अहिलेसम्म स्वतन्त्र रूपमा अभियान चलाउँदै आएका यी अभियन्ताहरू अब एकताबद्ध भई कुनै नयाँ राजनीतिक शक्तिसँग समाहित हुने संकेत दिएका छन् ।

प्रकाशित मिति: ३ माघ २०८२, शनिबार  १४ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।