सकियो धान खरिदको समय, खाद्यले खरिद गर्योे एक लाख ४५ हजार क्विन्टल


काठमाडौँ । यस वर्ष धान खरिदको समय सकिएको छ । खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले गत कात्तिक ११ गतेदेखि सुरु गरेको धान खरिद कार्यक्रम यस वर्षका लागि सकिएको हो । धान उत्पादनको पकेट क्षेत्रलाई आधार मानेर १३ वटा खरिद केन्द्र सञ्चालन गर्ने निर्णय भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका खरिद शाखा प्रमुख आनन्द पौडेलले जानकारी दिए ।

उनका अनुसार महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगञ्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोडमा खरिद केन्द्र सञ्चालन गरिएको थियो । तर, कम्पनीले देशका विभिन्न ठाउँमा रहेका ११ केन्द्रबाट एक लाख ४५ हजार क्विन्टल धान खरिद गरेको छ । धान खरिदको निर्धारित कोटा पूरा भएपछि ११ केन्द्रबाट धान खरिद कार्य स्थगन गरिसकेको हो ।

‘धनगढी, भैरहवा, तुलसीपुर, महेन्द्रनगर, राजापुर, बिर्तामोड, नेपालगन्ज, विराटनगर, पोखराका केन्द्रबाट कोटा अनुसार र जनकपुर र वीरगन्जमा कोटाभन्दा बढी धान खरिद भइसकेकाले हाललाई स्थगन गरिएको हो ।’ उनले भने ।

यस पटक जुम्ला र लहानबाट भने धान खरिद गर्न नसकेको उनले बताए । लहानबाट धान खरिद गर्न कम्पनीको कोटाभन्दा तेब्बरभन्दा बढी खरिद गर्नुपर्ने अवस्था आएपछि त्यो परिमाणको खरिद गर्न कम्पनीसँग आर्थिक स्रोत नभएपछि खरिद कार्यक्रम स्थगन गरेको पौडेलले जानकारी दिए ।

लहान केन्द्रले कोटा बढाउनुपर्ने माग गरेको र कम्पनीसँग कोटा बढाएर खरिद गर्न सक्ने अवस्था नभएपछि त्यो खरिद प्रक्रिया नै स्थगत गर्नु परेको पौडेलको भनाई छ ।

कम्पनीले जुम्लाबाट मार्सी र पोखराबाट जेठोबुढो (उन्नत जात) धान खरिद गर्ने योजना रहे पनि ती धान पाउन समस्या भएपछि खरिद प्रक्रिया अघि बढ्न नसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले एक लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यसहित ७० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

गत वर्ष कम्पनीले सात लाख तीन हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेर दुई अर्ब ६५ करोड रुपैयाँ बजेट छुट्याएको थियो । गत वर्ष व्यापारीले सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी दिएर किसानको धान किनेपछि कम्पनीले लक्ष्यको आधा पनि धान खरिद गर्न सकेको थिएन । गत वर्ष एक लाख २० हजार क्विन्टल मात्र धान खरिद गरेको थियो ।

यस वर्ष निजी व्यापारीले किसानलाई सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा ८०० रुपैयाँदेखि एक हजार रुपैयाँ सस्तो मूल्य दिएको हुँदा कम्पनीलाई लक्ष्य पूरा गर्न समस्या नभएको कम्पनीले जनाएको छ ।

सरकारले चालु आव २०८२/८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ निर्धारण गरेको छ ।

खाद्य कम्पनीले यस वर्षका लागि धान खरिदका लागि लिएको लक्ष्यमा ८५ प्रतिशत खरिद गरिसकेको र बाँकी १५ प्रतिशत भने गहुँ खरिदका लागि छुट्याइएको पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार  ०६ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।