सुर्खेत । नेपाल आयल निगमले सुर्खेतमा डिजेल र पेट्रोलको भण्डारण डिपो बनाउने तयारी गरेको छ । निगमले १४ करोड रुपैयाँ लागतमा कर्णाली प्रदेशको सुर्खेत कार्यालयपरिसर भित्रै करिब प्रदेशस्तरीय डिपो बनाउने गरी बोलपत्र आह्वान गरेको हो । २०८४ सालभित्र डिपो निर्माण गरिसक्ने गरी टेन्डर आह्वान भएको छ ।
अहिले कार्यालयमा मटितेल ४५ हजार लिटर र हवाई इन्धन ६० हजार लिटर मात्रै भण्डार हुने गर्छ । सुर्खेतमा हवाई इन्धन र मटितेल मौज्दात राख्ने डिपो भए पनि डिजेल र पेट्रोल भण्डारण गर्ने डिपो छैन । जसका कारण नेपालगन्जबाट ट्याङ्कीमा ल्याएर सोही दिन नै डिलरलाई बिक्री गर्नुपर्ने अवस्था छ ।
प्रस्तावित इन्धन भण्डार डिपोमा दुई लाख ८० हजार लिटर डिजेल र एक लाख ४० हजार लिटर पेट्रोल भण्डारण हुने क्षमताको बन्ने भएको हो । अहिले कार्यालयपरिसर रहेको एक बिघा क्षेत्रफलभित्रै नयाँ डिपो बनाउने तयारी रहेको छ ।
अहिले सुर्खेत कार्यालयबाट दैनिक एक लाख लिटर डिजेल र ६० हजार लिटर पेट्रोल खपत हुने गर्छ । कार्यालयले सल्यानबाहेक कर्णालीका सबै जिल्लाका पेट्रोल पम्पलाई इन्धन उपलब्ध गराउँछ ।












प्रतिक्रिया