काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । बालेनले घोषणापत्रलाई ‘झापा–५ वाचापत्र’ नाम दिएका छन् ।
झापा–५ बाट प्रतिनिधिसभा सदस्य उमेदवार बनेका उनले आफूले संघीय सांसदका हैसियतले गर्ने कामबारे वाचापत्रमा उल्लेख गरेका छन् । बालेनले शिक्षा, पूर्वाधार, कृषि तथा रोजगारी, महिला तथा बालबालिका र पर्यटन तथा उद्योगमा गर्न चाहेको कामबारे बताएका छन् ।
खेलकुद, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण, सुशासन र कला एवं संस्कृतिमा आफूले गर्ने काम बुँदागत रूपमा उल्लेख गरेका छन् ।
“स्थानीय तथा प्रदेश सरकारलाई संवैधानिक अधिकारको प्रत्यायोजन सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछु,” उनले वाचापत्रमा लेखेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएमा स्थानीय, प्रदेश र संघीय सरकारको समन्वय तथा सहकार्यमा आफूले वाचापत्रमा उल्लेख गरेका काम पाँच वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले आफूले राजनीतिलाई पेसा नभएर सेवाका रूपमा लिने प्रस्ट पारेका छन् । बेथिति र भ्रष्टाचारविरुद्ध संसद्को अग्रपंक्तिमा उभिने बताएका छन् । “राष्ट्रहितविपरीत कुनै पनि सम्झौता गर्ने छैन,” उनको वाचापत्रमा उल्लेख छ, “सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नेछु ।”
गरिब तथा विपन्न परिवारका बालबालिकाले पनि गुणस्तरीय शिक्षा पाउनु पर्ने अधिकार व्यवहारमै सुनिश्चित गरिने उनले बताएका छन् । उनले रास्वपा सरकार गठन भएको १०० दिनभित्र अधिकारसम्पन्न आयोग गठन गर्ने र १००० दिनभित्र यस क्षेत्रको भूमि सम्बन्धी समस्याको न्यायोचित र दिगो समाधान निकाल्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तै, बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्न र चक्लाबन्दी प्रवद्र्धनका लागि ‘ल्यान्ड बैंक’को व्यवस्था गर्ने तथा ऐलानी एवं नक्सांकन नभएका जग्गाहरूको नापी नक्सा अभिलेखीकरण कार्य सम्पन्न गर्ने बताएका छन् ।
उनले वाचापत्रमा ‘जनअपेक्षा अनुसार काम गर्न आएको हुँ, काम गर्न दिनुहोला’ भनेका छन् ।













प्रतिक्रिया