काठमाडौं । २१ फागुनको प्रातिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै राजनितिक दलहरुले दुर्घटनारहित सडक बनाउने देखि स्मार्ट ट्रान्जिट प्रणाली लागु गर्नेसम्मका वाचा गरेका छन् । मुख्य राजनीतिक दलमध्ये नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुर्घटना न्यूनीकरण गर्ने योजना घोषणापत्रमा समेटेका छन् ।
जसमा नेकपा एमालेले सडक सुरक्षाका सबै उपाय अवलम्बन गरी दुर्घटना न्यूनीकरण गर्ने भनेको छ । सडकमा निश्चित दुरी र अन्तरालमा पेट्रोलिङ गर्ने र निश्चित दुरीमा ट्रमा सेन्टर सुविधा प्रबन्ध गर्नेसमेत एमालेको घोषणा छ ।
सहरी क्षेत्रमा पैदलयात्रुको सुरक्षाका लागि सडकपेटी उपयुक्त प्रबन्ध गरिने समेत उल्लेख गरिएको छ । सूचना प्रविधिमा आधारित एकीकृत र विद्युतीय भाडा प्रणाली विकास गरी कार्यान्वयन गर्ने भनेको एमालेले सार्वजनिक यातायात पुनर्संरचना गर्ने भनेको छ ।
यस्तै, कांग्रेसले घोषणापत्रमा सडकलाई दुर्घटनारहित, बाह्रैमास चल्ने र स्थानीय तहको केन्द्रसम्म बनाउने वाच गरेको छ । कांग्रेसले सडक दुर्घटना कम गर्न सडकको डिजाइन र निर्माणबाटै सुरक्षाका उपायलाई उच्च प्राथमिकतामा राखी सडक स्तरीकरण, यातायात साधन परीक्षण एवं सवारी चालकको निगरानी प्रणाली विकास गर्ने घोषणा गरेको छ ।
कांग्रेसको घोषणापत्रमा राष्ट्रिय सडक सूचना प्रणाली एप निर्माण गरी यात्रु तथा सवारी चालकलाई हरेक सडकको वास्तविक समयको अवस्था ख्याल गरी खासगरी सवारी चाप, दुर्घटना, प्राकृतिक विपद् तथा निर्माणका कारणले हुने अवरोध र पुनस् सञ्चालनको समयबारे सूचना प्राप्त हुने व्यवस्था मिलाइने भनिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व परिचालन गरी देशका सबै सडक तथा गल्लीमा सबै सडक उज्याला अभियानका रूपमा सौर्य बत्ती जडान तथा मर्मत सम्भारका लागि निजी क्षेत्रलाई आह्वान गर्ने योजना कांग्रेसको छ ।
कांग्रेसले यातायात कानुन समयानुकूल संशोधन र परिमार्जन सहित शक्तिशाली यातायात प्राधिकरण स्थापना र तहगत समन्वय संरचना निर्माण गर्ने भनेको छ ।
यातायात सेवा सञ्चालन आधुनिकीकरण योजना कांग्रेसको छ । सडक अवस्था र फरक भौगोलिक परिस्थितिका आधारमा फरक–फरक प्रकृतिका सवारीसाधन प्रयोग हुने गरी आवश्यकताका आधारमा मात्र रुट अनुमति दिई व्यवस्थित यातायात प्रणालीको विकास गरिने समेत उल्लेख छ ।
कांग्रेसले एक वर्षभित्र सार्वजनिक यातायातमा स्मार्ट ट्रान्जिट प्रणाली लागु गर्ने भनेको छ । सडक प्रयोग र यातायात सुधार गर्न सबै सवारी चालकको नागरिक चेतना र सवारी साक्षरतामा काम गर्ने समेत कांग्रेसले बताएको छ ।
यता, रास्वपाले भने लामो दुरीको बस सेवामा सिन्डिकेट र कार्टेलिङ पूर्णतस् अन्त्य गर्ने घोषणा गरेको छ ।
ठूला सहरी क्षेत्रमा नगर बस सेवा चुस्त, सुरक्षित, आरामदायी र भरपर्दो बनाउन एउटै प्राधिकरणको व्यवस्थापन अन्तर्गत केन्द्रिकृत टिकट एवं शुल्क वितरण प्रणाली लागु गर्ने रास्वपाले उल्लेख गरेको छ ।
विद्युतीय बस उपयोग बढाउन भन्सार सहुलियत दिने र काठमाडौं उपत्यका लगायत तराईका मुख्य करिडोरमा सार्वजनिक यातायात विकासको दीर्घकालीन गुरुयोजना बनाउने घोषणा रास्वपाले गरेको छ ।
सडक सुरक्षा प्रविधिसँग जोड्दै सबै सार्वजनिक यातायातका साधनमा जीपीएस जडान गरी ट्र्याकिङ गर्ने, एआईमा आधारित ट्राफिक क्यामरा, डिजिटल जरिबाना प्रणाली, गति र लेन अनुशासनमा कडाइ गरी पहिलो वर्षमै दुर्घटना दरमा भारी गिरावट गराउने रास्वपाको घोषणा छ ।
चितवनको जस्तै ब्लुबस अन्य सहरमा विस्तार गर्ने र काठमाडौंका जस्तै बस बिसौनी देशभरि बनाउने समेत रास्वपाको घोषणा छ ।












प्रतिक्रिया