काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त द मेडिसिटी अस्पतालबीच बैंकका कार्डवाहक ग्राहकहरूलाई अस्पतालको सेवाशुल्कमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ।
यसअघि उक्त छुट सुविधा मेदान्ता, गुडगाउँमा मात्र लागू हुँदै आएकोमा नयाँ सम्झौतापछि मेदान्ताका थप ६ अस्पताल—नोएडा, लखनउ, पटना, इन्दौर, राँची लगायतका अस्पतालहरू तथा ५ मेडिक्लिनिकमा समेत विस्तार गरिएको बैंकले जनाएको छ।
समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका हुन्। बैंकका अनुसार यस सहकार्यले भारतमा स्वास्थ्य उपचारका लागि जाने ग्राहकहरूलाई थप सहज, सुलभ र लाभदायी सेवा प्राप्त हुने विश्वास लिइएको छ।
सिटिजन्स बैंकले हालसम्म विभिन्न नवप्रवर्तनात्मक सेवाहरू सञ्चालनमा ल्याउँदै आएको छ। बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल बैंकले फोनपेसँगको सहकार्यमा “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सञ्चालनमा ल्याएको छ भने नवयुवालाई लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट”, “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” जस्ता सेवा सुरु गरेको छ। साथै मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन तथा सी।आर।एन् नम्बर सेवा, क्रस बैंक टेलर सुविधा लगायतका सेवाहरू पनि उपलब्ध गराउँदै आएको छ।
हाल सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख ७६ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।












प्रतिक्रिया