नेपालको १५३ देशसँग व्यापार : १२३ देशसँग घाटा, ३० देशसँग मात्र नाफा


काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनामा नेपालले १५३ देशसँग वैदेशिक व्यापार गरेको छ । यस अवधिमा नेपालको निर्यात व्यापार अत्यन्तै कम देखिएको छ ।

साउनदेखि माघसम्म भएको १५३ देशसँगको वैदेशिक व्यापारमा नेपालले १२३ देशसँग घाटा व्यहोर्नुपरेको छ । ३० देशसँग मात्रै नेपालको व्यापार नाफामा गएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सात महिनामा ११ खर्ब २३ अर्बको वस्तु आयात हुँदा १ खर्ब ६८ अर्बको निर्यात भएको विभागले जनाएको छ ।

व्यापार नाफा हुने प्रमुख देश

नेपालको सबैभन्दा धेरै व्यापार नाफा डेनमार्कसँग भएको छ । सात महिनामा डनमार्कसँगको व्यापार ४७ करोड नाफामा रहेको छ । डेनमार्कबाट १० करोड ३५ लाख रुपैयाँको वस्तु आयात हुँदा ५८ करोड ३१ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । यस्तै, दोस्रा स्थानमा रहेको छ रोमनिया । रोमनियासँगको व्यापारमा ५ करोड ५२ लाख रुपैयाँ नाफामा रहेको छ । रोमनीयाबाट २ करोड ६३ लाख रुपैयाँको वस्तु तथा सामान आयत हुँदा ८ करोड १५ लाख रुपैयाँको सामान निर्यात भएको तथ्यांकले देखाएको छ ।

त्यसैगरी, नर्वेसँग ३ करोड ३३ लाख रुपैयाँ नाफामा रहेको छ । नेर्वेबाट ६ करोड ९१ लाख रुपैयाँको वस्तु आयात हुँदा १० करोड २५ लाख रुपैयाँको निर्यात भएको हो । आइसल्याण्डसँग २ करोड ५७ लाख, नाइजरसँग १ करोड ७३ लाख, अमेरिकनसँग १ करोड ६५ लाख, सेसेल्ससँग १ करोड ११ लाख, न्यु क्यालेडोनियासँग ९७ लाख, फिजीसँग ९२ लाख, क्यामनसँग ८४ लाख रुपैयाँ नाफा भएको छ ।

त्यस्तै, माल्टा, पानामा, माली, कोलोम्बिया, माल्दिभ्स लगायतका ३० मुलुकसँग व्यापार नाफामा रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

व्यापार घाटा धेरै हुने प्रमुख देश

नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग छ । सात महिनामा भारतसँग मात्र ४ खर्ब ९१ अर्ब ७७ करोड ५१ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । समिक्षा अवधीमा ६ खर्ब २९ अर्ब २९ करोड २५ लाख रुपैयाँको वस्तु आयात हुँदा १ खर्ब ३७ अर्ब ५१ करोड ७४ लाख रुपैयाँको वस्तु मात्रै निर्यात भएको देखिन्छ । त्यस्तै, दोस्रोमा चीनसँगको व्यापार घाटा पनि उच्च नै रहेको छ । सात महिनामा चीनसँगको व्यापारमा २ खर्ब ३४ अर्ब ४८ करोड २२ लाख रुपैयाँ व्यापार घाटा भएको छ । चीनबाट २ खर्ब ३५ अर्ब ३८ करोड २३ लाख रुपैयाँको वस्तु आयात हुँदा ९० करोड १ लाख रुपैयाँको मात्रै निर्यात भएको छ ।

अर्जेन्टिनासँगको व्यापारमा मुलुकले ६६ अर्ब ११ करोड ६६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । सो अवधीमा अर्जेन्टिनाबाट ६६ अर्ब ११ करोड ९३ लाख रुपैयाँको वस्तु आयात गर्दा निर्यात भने २६ लाख रुपैयाँको मात्र भएको छ । त्यसैगरी, यूएईसँग ३९ अर्ब ७७ करोड ९८ लाख, इन्डोनएसियासँग १२ अर्ब ६४ करोड ४५ लाख, थाइल्याण्डसँग १० अर्ब ८६ करोड ४० लाख, मलेसियासँग ७ अर्ब २ करोड २९ लाख, अष्ट्रेलियासँग ६ अर्ब ६३ करोड ७३ लाख, अमेरिकासँग ६ अर्ब १६ करोड ५१ लाख रुपैयाँ व्यापार घाटा भएको छ ।

३० देशबाट आयात मात्रै, निर्यात शून्य

व्यापार साझेदार देशमध्ये ३० देशमा नेपालको निर्यात ‘शून्य’ रहेको छ । जसमा रुवाण्डाबाट १३ करोड ७१ लाख रुपैयाँको वस्तु आयात हुँदा निर्यात शून्य रहेको छ । त्यस्तै, सुडान, यमन, सर्विया लगायत ३० मुलुकबाट आयात मात्र भएको छ । भने फिजी, केम्यान, बहमास लगायतका ९ मुलुकसँगको व्यापारमा निर्यात मात्र भएको विभागको तथयांकमा उल्लेख गरिएको छ ।

व्यापार घाटा १२ खर्ब बढी

मुलुकले सात महिनामा व्यापार घाटा १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । जुन गत वर्षको तुलनामा १५.७६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधीमा ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार  ११ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।