‘द्वन्द्वको घटनाले अर्थतन्त्रमा प्रभाव पार्ने कुरालाई बुझेर सुरक्षाको बाटो अपनाउन सिक्नुपर्छ’


काठमाडौँ । वाणिज्य विद् रवि शंकर सैंजुले मध्यपूर्व तथा पश्चिम एसिया द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन्।

मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व, नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘एसिया द्वन्द्वबाट नेपालको अर्थतन्त्रमा कस्तो असर पर्छ र उक्त घटनाबाट हामीले के सिक्नुपर्छ भन्ने विषय मुख्य हुन्छ । वास्तवमा अर्को देशमा भएको घटनाले अर्थतन्त्रमा प्रभाव पार्ने र सुरक्षाको बाटो अपनाउने पाठ हामीले सिक्नुपर्छ,’ सैंजुले भने, ‘अर्को देशको घटनामा आफ्नो अर्थतन्त्रमा परेको प्रभावलाई बुझेर अघि बढ्नुपर्ने काम हामीले गर्नुपर्छ ।’

द्वन्द्वका कारण पर्यटन पनि प्रभावित हुने उनले बताए । ‘द्वन्द्वका कारण हवाई यातायात प्रभावित हुने र त्यसको असर हाम्रो पर्यटन व्यवसायमा पर्ने देखिन्छ । अहिले विभिन्न स्थानका विमानस्थलहरूमा नै पर्यटक रोकिनुपर्ने स्थिति बनेको छ,’ उनले भने, ‘यो अवस्थाका कारण नेपाल आउने पर्यटकमा कमी आउने देखिएको छ ।’

उनले पर्यटकले आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने भएकाले यस्ता विषयले नेपालको पर्यटन व्यवसायमा असर पुराउने बताएका हुन्।

 

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार  १६ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।