इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार


तेहरान । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि मङ्गलबारसम्ममा ‘हर्मुज घाँटी’ लाई स्वतन्त्र आवागमनका लागि खुला नगरेमा इरानले अर्को भयङ्कर आक्रमणको सामना गर्नुपर्ने र इरानले महत्वपूर्ण पूर्वाधार ध्वस्त भएको हेर्नुपर्ने चेतावनी दिएका थिए । युद्ध अन्त्यका लागि वार्ता गर्न ४५ दिनको युद्धविराम प्रस्तावलाई इरानले नकारे पनि अमेरिकाको यसपछिको प्रतिक्रिया आइसकेको छैन ।

समाचार एजेन्सी आइआरएनएले भनेको छ, “इरानले युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्तावप्रति पाकिस्तानलाई आफ्नो प्रतिक्रिया जानकारी गराएको छ ।”

“दश बुँदामा तयार गरिएको प्रतिक्रियामा इरानले युद्धविरामलाई अस्वीकार गरेको छ र द्वन्द्वको निश्चित अन्त्यको आवश्यकतामा जोड दिएको छ । ”

यसअघि, इरानले युद्ध अन्त्यका लागि केही शर्त अघि सारेको थियो । युद्ध तेह्रौँ दिनमा प्रवेश गर्दै गर्दा तेहरानले आफ्नो अधिकारको अन्तर्राष्ट्रिय मान्यता, युद्धको क्षतिपूर्ति र भविष्यमा आक्रमण नहुने सुनिश्चितता (ग्यारेन्टी) नभएसम्म सङ्घर्ष नरोकिने स्पष्ट पारेको छ ।

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार  ०६ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।