काठमाडौँ । साताभर उतारचढाव देखिएको सुन बजारमा अन्ततः सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस साता प्रतितोला सुनको मूल्य २ हजार ९०० रुपैयाँले बढेको हो ।
गत शुक्रबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य यो शुक्रबार २ लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य स्थिर अर्थात् शुक्रबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको थियो भने दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य तोलामा २ हजार ६०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुनको मूल्य सामान्य बढेको थियो । मंगलबार सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बुधबार भने सुनको मूल्य तोलामा ७ हजार २०० रुपैयाँले वृद्धि हुँदा प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । उक्त मूल्य यो साता भरीकै उच्च मूल्य हो ।
बुधबार बढेको सुनको भाउमा बिहीबार भने गिरावट आएको थियो । बिहीबार सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने, शुक्रबार फेरी सुन तोलामा २ हजार २०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको हो ।
सुनसँगै चाँदीको मूल्यमा पनि साताभर उत्तरचढाव देखिएको छ । अघिल्लो शुक्रबार प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला ४ हजार ९६० रुपैयाँ पुगेको छ । महासंघका अनुसार आइतबार ४ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा ५० रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८२० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ । बुधबार एकैदिन चाँदी तोलामा २०५ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार १५० रुपैयाँले घटेर ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो । साताको अन्तिम कारोबार दिन शुक्रबार भने तोलामा ८५ रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य ४ हजार ६०० रुपैयाँ कायम भएको हो ।
अमेरिका र इरानबिच दुई हप्ते युद्धविरामको सहमति भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै नेपाली बजारमा पनि प्रभाव परेको छ ।
अमेरिकाले इरानमाथिको आक्रमण तत्कालका लागि स्थगित गर्ने निर्णय गरेपछि लगानीकर्ताहरू सुरक्षित लगानीतर्फ आकर्षित हुँदा सुनको भाउमा वृद्धि भएको जानकारहरु बताउँछन् ।
गत फेब्रुअरी २८ मा इरान अमेरिका युद्ध सुरु भएयता सुनको भाउमा निरन्तर गिरावट आएको थियो, तर पछिल्लो राजनीतिक घटनाक्रमले सुनको मूल्यलाई फेरि उकालो लगाएको छ ।










प्रतिक्रिया