म नेपाल आमा हाँसेको हेर्न चाहन्छु : प्रधानमन्त्री बालेन


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफूले नेपाल आमा हाँसेको हेर्न चाहेको बताएका छन्। मातातीर्थ औंसीका अवसरमा शुभकामना दिँदै उनले माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने बताए ।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी,’ उनले संस्कृत वाक्यांश अनुवाद गर्दै शुभकामना दिएका छन्, माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्। माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औंसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।’

प्रधानमन्त्री बालेनले आमा जीवनको पहिलो गुरू अनि अनन्त ममताकी स्रोत आमा भएको बताएका छन्।

‘आमाको मुख हेर्ने दिन आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौं, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्। मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना। हे जननी ! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु,’ उनले लेखेका छन्।

प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार  ०९ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।