गृहमन्त्री गुरुङले दिए राजीनामा


काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायी दिपक भट्टसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र साहलाई राजीनामा बुझाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गुरुङले आजकै मितिदेखि लागू हुने गरी पद त्याग गरेको जानकारी दिएका हुन् । चैत १३ देखि गृह प्रशासनको नेतृत्व सम्हाल्दै आएका गुरुङले एक महिना नपुग्दै राजिनामा दिएका हुन् ।

उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘आज देशमा सुशासन र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ भन्ने सन्देश दिएको छ, मेरा ४६ जना भाइ/बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको यो सरकारमाथि कसैले प्रश्न उठाउँछ भने त्यसको जवाफ नैतिकता नै हुनुपर्छ।’

उनले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्वु नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन्। बालेन सरकार गठन भएको एक महिना नबित्दै राजिनामा दिने उनी दोस्रो मन्त्री हुन् । यस अघि श्रम मन्त्री दिपक शाहले पनि श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्त गरेको विषय विवादित बनेपछि राजिनामा दिएका थिए ।

प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार  १४ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।