शेखर गोल्छालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले गोल्छालाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

गोल्छालाई गत बिहीबार पक्राउ परेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवदेनको आधारमा गोल्छालाई पक्राउ गरी ४ दिन म्याद थपेर अनुसन्धान भइरहेको थियो ।

हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ को उपदफा १ र दफा ९८ बमोजिम कसूरमा ऐनको दफा १०३ को उपदफा ३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन २०८३ ब्यूरोमा प्राप्त भएपछि वैशाख १० गते काठमाडौँ जिल्ला अदालतले पक्राउ अनुमति दिएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको सेयर कारोबारको विषयमा सहयोग गरेको अभियोगमा गोल्छालाई प्रहरीले पक्राउ गरेको थियो ।

भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिबाट गरिएको कारोबारमा मुख्यगरी रुपमा दिपक भट्ट र तथा सहयोगीको रुपमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन क्यापसर्व, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फन्ड, रोहित गुप्ता र शेखर गोल्छाको रकम प्रयोग भएको देखिएको थियो ।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार  ०६ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।