चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने


काठमाडौँ । चक्रपथ विस्तार (दोस्रो चरण) कार्यान्वयन गर्न चीन सरकारले ११ अर्ब रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्रालयका अनुसार सहयोगसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चीनका राजदूत चाङ माओमिङले उक्त मन्त्रालयमा आज हस्ताक्षर गरेको हो ।

सम्झौताअनुसार अब कलङ्कीदेखि वसुन्धरासम्म चक्रपथ विस्तार गरिने छ । पहिलो चरणमा कोटेश्वरदेखि कलङ्कीसम्म विस्तार भएको हो ।

त्यसअवसरमा मन्त्री लम्सालले परियोजना कार्यान्वयनमा कुनै किसिमका समस्या हुन नदिने बताउँदै त्यसो भएमा तिनको समाधानका निम्ति तत्काल सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे । उनले उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको बताउँदै मुलुकको पूर्वाधार विकासमा चीन सरकारबाट अझ लगानी अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

राजदूत चाङले लगानीको उपयुक्त वातावरण बनेमा धेरैभन्दा धेरै चिनियाँ लगानीकर्ता यहाँ आउन इच्छुक रहेका बताए ।

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार  १५ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।