काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्दै आर्थिक सुधारलाई तीव्रता दिने रणनीति अवलम्बन गरेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार, लगानीमैत्री वातावरण तथा समसामयिक आर्थिक विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाइने बताए ।
अर्थमन्त्री वाग्लेले विगतका नीतिगत तथा प्रशासनिक जटिलताका कारण व्यवसायमा देखिएका समस्या समाधान गर्दै उद्यमी–व्यवसायीलाई पुनः सक्रिय बनाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले कर प्रणालीलाई व्यवस्थित बनाउने, डिजिटल प्रणाली विस्तार गर्ने तथा लगानीमैत्री नीतिहरूलाई प्राथमिकता दिइएको उल्लेख गरे ।
उनले १० लाख रुपैयाँसम्मको आयमा कर छुट, विद्युत् क्षेत्रमा करसम्बन्धी व्यवस्थालाई अन्तिम उपभोक्तामैत्री बनाउने प्रयास, तथा सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत शिक्षा र पोषणमा लक्षित कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । सरकार पारदर्शी र बिचौलियारहित प्रणाली निर्माणतर्फ अघि बढिरहेको पनि उनको भनाइ थियो ।
सो अवसरमा अर्थमन्त्री वाग्लेले विसं २००७ सालदेखिको इतिहास बोकेको नेपाल चेम्बर अफ कमर्समा उपस्थित हुन पाउँदा खुसी लागेको बताए । निजी क्षेत्रबाट उठाइएका समस्या तथा सुझावप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले यथासम्भव समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।












प्रतिक्रिया