सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत


काठमाडौँ । प्रतिनिसिभाको आजको दोस्रो बैठकमा सार्वजनिक खरिद प्रणालीलाई अझ पारदर्शी र व्यवस्थित गर्न ल्याइएको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ विचार गरियोस् भन्ने प्रस्तव सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सो विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले जनतालाई शीघ्र परिणाम दिने लक्ष्यका साथ सार्वजनिक निकायबाट आह्वान हुने बोलपत्रलाई पारदर्शी र व्यवस्थित गर्न विधेयक ल्याइएको बताउँदै आयोजना समयमा सम्पन्न नगर्ने प्रवृत्तिलाई यसले निरुत्साहित गर्ने तर्क गरिन् ।

उनले पूर्वतयारीका साथ आयोजना सञ्चालन गर्ने, अति न्यून कबुल गर्न छुट दिँदा गुणस्तर खस्कने तथा समयमा आयोजना पूरा नहुने समस्या समाधान गर्न सहयोग हुने बताइन् ।

मन्त्री गौतमले आयोजनाका लागि निर्माण सामग्री नदिने, असहयोग र समन्वय नगर्ने निकाय र तहलाई कारवाही गर्ने व्यवस्था विधेयकमा गरिएको बताउँदै आयोजनाको जिम्मा लिएको पक्षले लिएको पेश्की रकम अन्यत्र प्रयोग गरेमा फौजदारी मुद्धामा कारबाही गरिने जनाइन् ।

छलफलमा सांसदहरू आशिष गजुरेल, युवराज दुलाल, बलावती शर्मा, विश्वराज पोखरेल, चन्द्रमोहन यादव, पारसमणि गेलालले भाग लिएका थिए ।

स्वीकृत लागत अनुमानभन्दा ३० प्रतिशत घटाएर बोलपत्र पेस गर्ने आवेदकलाई मूल्याङ्कनमा समावेश नगर्ने प्रस्तावको सांसदहरूले सराहना गरेका छन् ।

उनीहरूले बोलपत्रमा कबुल औसत अङ्क कायम गर्न र नेपाली निर्माण सामग्रीको प्रयोग, ठेक्का सकारेर बीचमा काम छाड्ने प्रवृत्ति अन्त्य हुनुपर्ने सुझाव दिएका थिए । केही सांसदले संसद् छलेर अध्यादेश जारी गरिएकामा त्यसप्रति विमति जनाएका थिए ।

प्रकाशित मिति: १४ असार २०८३, आइतबार  १६ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।