कम्पनी दर्तासँगै अब अनलाइनबाटै प्यान नम्बर प्राप्त गर्न सकिने


काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने नयाँ कम्पनीहरूले अब अनलाइन प्रणालीबाटै आफ्नो स्थायी लेखा नम्बर (पान) र सोको प्रमाणपत्र प्राप्त गर्न सक्ने भएका छन् । कार्यालयले आफ्नो विद्युतीय प्रणालीलाई आन्तरिक राजस्व विभागको प्रणालीसँग अन्तरआबद्धता गरेपछि यो सुविधा कार्यान्वयनमा आएको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागबीच २०८३ साल वैशाख ३१ गते विद्युतीय प्रणालीमा आबद्ध हुने सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

सोहीबमोजिम विकास गरिएको प्रणालीलाई कार्यालयको केमिस प्रणालीमा समावेश गरी असार १५ गतेदेखि सफलतापूर्वक ‘लाइभ’ गरिएको कार्यालयले जनाएको छ ।

यसअघि कम्पनी दर्ता भएपछि प्यान नम्बर प्राप्त गर्न आन्तरिक राजस्व कार्यालयमा जानुपर्ने वा थप प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था थियो । नयाँ प्रणाली लागू भएपछि उक्त प्रक्रिया सहज, छिटो र पूर्ण रूपमा अनलाइनमार्फत हुने कार्यालयले जनाएको छ। आम सेवाग्राही तथा सरोकारवालाहरूको सहजताका लागि यो सूचना प्रकाशन गरिएको कम्पनी रजिष्ट्रारको कार्यालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार  १८ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।