उद्योगमन्त्री र यूएईका वैदेशिक व्यापारमन्त्री थानीबीच भेटवार्ता


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी र संयुक्त अरब इमिरेट्स (यूएई) का वैदेशिक व्यापारमन्त्री डा। थानी बिन अहमद अल जियोडीबीच भेटवार्ता भएको छ । भेटवार्ता शुक्रबार सिंहदरबारस्थित उद्योग मन्त्रालयमा भएको थियो ।

दुई देशका मन्त्री तथा उच्च अधिकारीहरू सम्मिलित उक्त बैठकमा द्विपक्षीय व्यापार, लगानी र सहकार्यका विविध आयामबारे बृहत् छलफल भएको थियो ।

भेटका क्रममा यूएईका मन्त्री डा. थानीले यूएई नेपालका विभिन्न औद्योगिक क्षेत्रमा लगानी गर्न पूर्ण रूपमा तयार रहेको बताएका थिए । उनले लगानीको वातावरण सहज बनाउँदै सहकार्यको बाटो खोल्न मन्त्री कुमारीसमक्ष अनुरोध गरेका थिए ।

यूएईले विशेषगरी नेपालको कृषि क्षेत्रमा लगानी गर्न विशेष रुचि देखाएको छ । मन्त्री डा. थानीले कृषि परियोजनाहरूमा लगानीका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

यसैगरी, यूएईबाट आएका उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्यहरूले नेपालको रेलवे क्षेत्रमा निजी क्षेत्रको तर्फबाट लगानी गर्ने इच्छा व्यक्त गर्दै यसका लागि कानुनी एवं व्यावहारिक सहजताको अपेक्षा राखेका थिए ।

नेपालका लागि यूएईका राजदूतसहित सहभागी भएको उक्त टोलीले नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा ठूलो सम्भावना रहेको बताएको थियो । यूएई सरकारले नेपालमा हरित डाटा सेन्टर स्थापना गर्ने सोच बनाएको र यसका लागि आवश्यक लगानी भित्राउन आफुहरू तयार रहेको जानकारी गराएको थियो ।

नेपालमा उत्पादन हुने फलफूल तथा तरकारी जस्ता कृषि उपजहरूलाई यूएईमा निर्यात गर्ने सम्बन्धमा दुवै देशबीच आपसी सहमति कायम गर्ने प्रतिबद्धता जनाइएको छ ।

नेपाली उत्पादनको निर्यातलाई सहज बनाउन खाद्य गुणस्तर निर्धारण र स्टान्डर्डाइजेसन (प्रमाणीकरण)का क्षेत्रमा आवश्यक लगानी र प्राविधिक सहयोग गर्न यूएई पक्ष सकारात्मक देखिएको छ ।

भेटवार्ताका क्रममा उद्योगमन्त्री कुमारीले नेपाल र यूएईबीचको व्यापार मञ्चलाई थप विस्तार र सुदृढ गर्न विशेष प्रस्ताव राखेकी थिइन् ।

यूएई पक्षले यस प्रस्तावलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा यसबारे थप ठोस छलफल अघि बढाउने बताएको छ ।

मन्त्री कुमारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडान सञ्चालन गर्न तयार भएकोमा यूएई सरकारलाई विशेष धन्यवाद दिएकी थिइन् ।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार  १६ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।