एनआईसी एशिया क्यापिटलद्वारा कतारमा ‘पर्सनल फाइनान्स एन्ड इन्भेस्टमेन्ट मास्टरक्लास’ सम्पन्न


एनआईसी एशिया क्यापिटलले पहिलोपटक विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै कतारमा ‘पर्सनल फाइनान्स एन्ड इन्भेस्टमेन्ट मास्टरक्लास’ कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित रूपमा वित्तीय तथा पुँजी बजारसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएकोमा खाडी मुलुकमा रहेका नेपालीलाई लक्षित गरी पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरेको जनाएको छ।

कतारमा मात्रै करिब ३ लाख ५० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेको तथ्यलाई मध्यनजर गर्दै उनीहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले “विदेशमा कमाऔं, नेपालमा सम्पत्ति बनाऔं” नारासहित कार्यक्रम आयोजना गरिएको हो।

अवै टु सक्सेस, इभेन्ट एण्ड ट्रेनिङ प्रोग्रामका सञ्चालकहरूसँगको सहकार्यमा आयोजित कार्यक्रम असार २६ गते दोहास्थित ग्लोरिया होटल एन्ड सुइट्समा सम्पन्न भएको थियो।

कार्यक्रममा एनआईसी एशिया क्यापिटलका उच्च व्यवस्थापन तहका अधिकारीहरूले विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै वित्तीय योजना, लगानी र नेपालको पुँजी बजारका अवसरबारे जानकारी दिएका थिए।

कार्यक्रममा डायस्पोरा अकाउन्ट समाधान, एसआईपी, आईपीओ, सेयर, डिम्याट तथा मेरोसेयर खाता, नेपाली पुँजी बजारमा सम्पत्ति व्यवस्थापन, विश्वभर रहेका नेपालीलाई नेपालको लगानी अवसरसँग जोड्ने उपाय तथा आइडिया टु आईपीओ बियोन्ड द बोर्डर लगायतका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा विदेशमा रहेका नेपालीलाई प्राथमिक सेयर निष्कासन ९आईपीओ० मा आवेदन दिने प्रक्रिया, आवेदन गर्दा ध्यान दिनुपर्ने विषय, सामूहिक लगानी कोषका इकाइ तथा एसआईपी खरिद गर्दा विचार गर्नुपर्ने पक्ष, दोस्रो बजारमा कारोबार गर्दा अपनाउनुपर्ने सावधानी र नेपालमा उपलब्ध लगानीका अवसरबारे जानकारी गराइएको थियो।

त्यस्तै, विदेशमा कमाएको रकम वैधानिक माध्यमबाट नेपाल पठाउने प्रक्रिया र नेपालमा लगानी गर्ने सम्भावनाबारे पनि सहभागीलाई जानकारी दिइएको थियो।

कार्यक्रममा कतारमा वैदेशिक रोजगारीमा रहेका तथा व्यवसाय सञ्चालन गरिरहेका १४० भन्दा बढी नेपालीको सक्रिय सहभागिता रहेको एनआईसी एशिया क्यापिटलले जनाएको छ।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार  १८ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।