काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कमजोर सञ्चार माध्यमले सरकार र सार्वजनिक निकायलाई प्रभावकारी ढङ्गले प्रश्न गर्न नसक्ने तथा समाजप्रति आफ्नो उत्तरदायित्वसमेत पूरा गर्न नसक्ने भएकाले सञ्चार क्षेत्रलाई व्यावसायिक, जिम्मेवार र सुदृढ बनाउन आवश्यक रहेको बताएका छन्।
सूचना तथा सञ्चार मन्त्रालयमा आज अनलाइन टिभी पत्रकार सङ्घ, नेपालसँग भएको छलफलमा सञ्चारमन्त्री तिमिल्सिनाले स्वतन्त्र, उत्तरदायी र विश्वसनीय पत्रकारिताले मात्रै सुशासन, पारदर्शिता र लोकतान्त्रिक मूल्यलाई सुदृढ बनाउन सक्ने उल्लेख गर्दै सरकार नियन्त्रणमुखी पत्रकारितामा विश्वास नगर्ने स्पष्ट पारे ।
उनले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्दै सरकारले सञ्चार क्षेत्रको विकास र प्रवद्र्धनमा सहजीकरण गर्ने नीति लिएको बताए । तर विद्यमान ऐन, कानुन, विधि–विधान र पत्रकार आचारसंहिताभन्दा बाहिर गएर सञ्चालित हुने सञ्चार माध्यममाथि भने कानुनअनुसार कडाइका साथ कारबाही गरिने उनको स्पष्ट भनाइ थियो । “गैरजिम्मेवार सामग्री, गालीबेइज्जती, अश्लील तथा भ्रामक सामग्री प्रकाशन तथा प्रसारण, गोपनीयताको हक उल्लङ्घन, गलत नियतका साथ सूचना सम्प्रेषण जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न नियामक निकायलाई अझ प्रभावकारी बनाइनेछ,” सञ्चारमन्त्री तिमिल्सिनाले भने ।
उनले पत्रकारिता आफैंमा ठूलो सामाजिक उत्तरदायित्व बोकेको क्षेत्र भएकाले पत्रकारहरूले सत्य, तथ्य र सार्वजनिक हितलाई केन्द्रमा राखेर जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए । पत्रकारिता क्षेत्र सुधार भए लोकतन्त्र बलियो हुने र त्यसबाट अन्ततः राष्ट्रले लाभ लिन सक्ने उनको भनाइ थियो ।
सञ्चारमन्त्री तिमिल्सिनाले पछिल्ला वर्षमा अनलाइन पत्रकारिताको तीव्र विस्तारले सूचना प्रवाहलाई सहज र प्रभावकारी बनाएको भए पनि यही क्षेत्रमा सबैभन्दा बढी विकृति, अव्यवस्था र गैरव्यावसायिक अभ्यास देखिएको उल्लेख गरे । त्यसैले सञ्चार माध्यममा पत्रकार आचारसंहिता पूर्ण रूपमा लागू गराउने, स्वनियमनको संस्कृतिलाई संस्थागत गर्ने तथा जिम्मेवार पत्रकारिताको वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।
हजारौँ संख्यामा कमजोर र गैरजिम्मेवार सञ्चार माध्यम रहनुभन्दा सीमित सङ्ख्यामा भए पनि व्यावसायिक, विश्वसनीय र प्रभावकारी सञ्चार संस्था हुनु मुलुकका लागि बढी लाभदायी हुने सञ्चारमन्त्री तिमिल्सिनाले बताए । गुणस्तरीय पत्रकारिता र दिगो व्यवसायिकताको विकास नै सञ्चार क्षेत्रको भविष्य भएको उनको भनाइ थियो ।
सञ्चारमन्त्री तिमिल्सिनाले सरकारले डिजिटल साक्षरता अभिवृद्धिका लागि राष्ट्रियस्तरमा विभिन्न कार्यक्रम अघि बढाउन लागेको बताउँदै प्रविधिको विकाससँगै आमनागरिकलाई सही र गलत सूचनाबीच फरक छुट्याउन सक्ने क्षमता विकास गर्नु पनि उत्तिकै आवश्यक रहेको बताए।
आमसञ्चार विधेयक र मिडिया काउन्सिल विधेयकको मस्यौदा छिट्टै सार्वजनिक गरी सरोकारवालासँग सुझाव लिइने पनि सञ्चारमन्त्री तिमिल्सिनाले बताए । अहिले सञ्चार क्षेत्रमा देखिएका समस्या, चुनौती र सुधारका आवश्यकतालाई ती विधेयकमार्फत सम्बोधन गरिने उनको भनाइ थियो ।
दर्ताबिनै सञ्चालन भइरहेका सञ्चार माध्यमलाई तत्काल कानुनी प्रक्रियाअनुसार दर्ता हुने व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न मन्त्रालयले यसअघि नै सूचना तथा प्रशारण विभागलाई निर्देशन दिइसकेको छ । तोकिएको समयभित्र दर्ता हुन नआउने सञ्चार माध्यमलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन भनिएको छ ।










प्रतिक्रिया