नारायणी नदीमा तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै


चितवन । चार वर्षअघि सम्झौता भएर सुस्त गतिमा काम भइरहेको नारायणी नदीमा तटबन्धन निर्माणले तीव्रता पाएको छ । समयमा काम हुन नसकेका आयोजनाको कामलाई पछिल्लो समय तीव्रता दिइएको हो ।

गत वर्षको कात्तिकसम्म भौतिक प्रगति कमजोर भएका दुई निर्माण आयोजनाको कामले अहिले पनि गति पाएको हो । सम्झौता भएर पनि समयमा सम्पन्न हुन नसकेका प्रमुख दुई निर्माण यतिबेला अन्तिम चरणमा पुगेका छन् ।
चितवनको सिसै–भगेँडी बालुवा क्षेत्रको छ किलोमिटर तटबन्धन गत कात्तिकसम्म २४ प्रतिशत मात्र सम्पन्न भएको थियो । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको सक्रियतासँगै अहिले ९० प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।

कार्यालयका प्रमुख डा नारायणप्रसाद सुवेदीका अनुसार असार मसान्तसम्ममा ९०.९३ प्रतिशत काम सम्पन्न भएको छ । उनले भने, “असार मसान्तभित्रै सक्ने लक्ष्य लिए पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण काम प्रभावित भयो ।” यस्तै नारायणी नदीपारि गैँडाकोटको कुसुमघाटबाट थुम्सीसम्मको तटबन्धनको काम पनि ९९ प्रतिशत सकिएको सुवेदीले बताए ।

कार्यालयका सूचना अधिकारी सागर पौडेलका अनुसार तीन वर्ष छ महिनासम्म ४७ प्रतिशत मात्र भएको निर्माण असार मसान्तसम्म आइपुग्दा ९९ प्रतिशत पुगेको छ । चितवनतर्फको काम विसं २०७९ असार १० गते शर्मा सगुन निर्माण कम्पनीसँग सम्झौता भई काम अघि बढेको थियो ।

चितवनतर्फका सोही ठाउँका पाँच ठेक्कामध्ये चार वटा ‘प्याकेज’ मा काम सम्पन्न भइसकेका छन् । सिसै(भगेँडीको काम भने रोकिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जनाएको छ । सो ठाउँको तटबन्धनको काम अहिले ९० प्रतिशत सकिएपछि बर्सात्मा आउने बाढीको जोखिम धेरै कम भएको छ । छ किलोमिटर लामो यो तटबन्ध ३७ करोड रुपैयाँमा सम्झौता भएको हो । समस्या पहिचान गरी निरन्तर पहल गरेपछि कामले गति लिएको प्रमुख डा सुवेदीले बताए ।

गैँडाकोटतर्फको कुसुमघाट–थुम्सी क्षेत्रको करिब पाँच किलोमिटर तटबन्धका लागि विसं २०७९ मङ्सिर १५ गते सम्झौता भएको थियो । एक अर्ब नौ करोड रुपैया ँलागतमा सम्झौता भएको तटबन्धको काम अहिले ९९ प्रतिशत भएको छ । कार्यालय प्रमुख डा सुवेदीले यो क्षेत्रमा दुबोको चपरी राख्ने र अन्य साना काम मात्र बाँकी रहेको बताए ।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार  १७ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।