२८ मध्ये ११ भन्सार नाकाबाट आयात मात्रै, एक रुपैयाँको पनि भएन निर्यात


काठमाडौँ । मुलुकका २८ भन्सार नाकामध्ये ११ वटा नाकाबाट गत आर्थिक वर्ष २०८२/८३ मा एक रुपैयाँ बराबरको पनि वस्तु तथा सामान निर्यात हुन सकेन । ती नाकाबाट निर्यात शुन्य हुँदा पनि अर्बौं रुपैयाँ बराबरको वस्तु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । तातोपानीदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्मका यी नाकाबाट आयात निरन्तर भए पनि निर्यात भने शून्य देखिएको हो ।

विभागका अनुसार समीक्षा अवधिमा तातोपानी, सुथौली, सुनसरी, जनकपुर, महेशपुर, सती, भद्रपुर, सिराहा, राजविराज, टाँडी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट निर्यात शून्य रहेको छ । तर, यी सबै नाकाबाट वस्तु आयात भने भएको छ ।

सबैभन्दा धेरै आयात भएको तर निर्यात शून्य रहेको नाका तातोपानी भन्सार हो । गत आर्थिक वर्ष उक्त नाकाबाट ४७ अर्ब ४८ करोड ६१ लाख रुपैयाँ बराबरका वस्तु आयात भए पनि निर्यात भने हुन सकेको देखिदैन । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा पनि सो नाकाबाट ५० अर्ब ३९ करोड ५८ लाख रुपैयाँ बराबरको आयात हुँदा निर्यात शून्य रहेको थियो ।

तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डे का अनुसार भन्सार कार्यालयतर्फबाट निर्यातमा कुनै अवरोध छैन । “भन्सार कार्यालयमा पूर्वाधार पर्याप्त छन् । आयात भएजस्तै निर्यात पनि गर्न सकिन्छ । तर चिनियाँ बजारमा नेपाली वस्तुको माग कम हुनु र ठूलो परिमाणमा निर्यात नहुनुले यस्तो अवस्था आएको हो,” उनले भने ।

उनका अनुसार नेपाली व्यवसायीको चीनतर्फको व्यापार विस्तार हुन नसक्नु र चिनियाँ पक्षबाट पर्याप्त खरिद नहुनु पनि निर्यात शून्य हुनुका प्रमुख कारण हुन् ।

तातोपानीपछि सबैभन्दा बढी वस्तु आयात भएको तर निर्यात शुन्य रहेको भन्सार सुथौली हो । उक्त भन्सारबाट गत आर्थिक वर्षमा १० अर्ब ७५ करोड २ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

त्यस्तै सुनसरीबाट २ अर्ब २४ करोड ५७ लाख रुपैयाँ, जनकपुरबाट १ अर्ब ३२ करोड ४३ लाख रुपैयाँ, महेशपुरबाट ८६ करोड ८६ लाख रुपैयाँ, सतीबाट ७० करोड ३ लाख रुपैयाँ, भद्रपुरबाट ४८ करोड ६४ लाख रुपैयाँ, सिराहाबाट ४४ करोड ६६ लाख रुपैयाँ, राजविराजबाट ३४ करोड ६८ लाख रुपैयाँ, टाँडीबाट २ करोड २२ लाख रुपैयाँ र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ४६ लाख रुपैयाँ बराबरको आयात भएको छ । यी सबै नाकाबाट भने निर्यात शून्य रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

यता, गत आर्थिक वर्ष सबैभन्दा बढी आयात र निर्यात वीरगन्ज भन्सारबाट भएको छ । समिक्षा अवधिमा उक्त नाकाबाट ९ खर्ब ८६ अर्ब ४३ करोड २५ लाख रुपैयाँ बराबरको आयात र १ खर्ब १४ अर्ब ८५ करोड ८५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

त्यस्तै, विराटनगर भन्सारबाट २ खर्ब ४१ अर्ब ९६ करोड रुपैयाँ बराबरको आयात र ८८ अर्ब ७२ करोड ९७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट २ खर्ब ३ अर्ब ५१ करोड रुपैयाँ बराबरको आयात र ३७ अर्ब ९४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ भने भैरहवा भन्सारबाट ३ खर्ब ४ अर्ब १७ करोड रुपैयाँ बराबरको आयात र ३४ अर्ब ९२ करोड रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार  १६ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।