सुनसरीको अवस्था सामान्यतर्फ उन्मुख


विराटनगर । सुनसरीको देवानगञ्जको घटनापछि उत्पन्न स्थिति सामान्यतर्फ उन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

स्थानीय दुई समूहबीच भएको झडपलाई नियन्त्रण गर्ने क्रममा गोली लागेर एक जनाको उपचारको क्रममा निधन भएको थियो ।

उक्त घटनामा सुरक्षा फौजका १५ जना र स्थानीय ११ जना घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिए। देवानगञ्ज, हरिनगरा, कप्तानगञ्ज, लौकही, इनरुवाजस्ता क्षेत्रमा तोडफोड र आगजनीका घटना भएपछि त्यस क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।

हाल घटनास्थल क्षेत्रको स्थिति नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं नायब उपरीक्षक चन्द्र खड्काले जानकारी दिए ।

जिल्लास्थित पूर्वपश्चिम राजमार्ग दक्षिणतर्फका केही बजार भने बन्द रहेको उनले बताए। जिल्ला प्रशासन कार्यालयको पहलमा सोमबार भएको सर्वपक्षीय बैठक र जिल्ला प्रसाशन कार्यालय सुनसरीले घटनालाई साम्य पार्न तथा शान्ति सुरक्षा सुव्यवस्था कायम राख्न सबैलाई संयमता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार  ११ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।