सुनसरीमा जनजीवन सहज बन्दै, सर्वपक्षीय छलफलमा सद्भाव कायम गर्ने प्रतिबद्धता


काठमाडौँ । गत आइतबार दुई समूहबीच झडप भएयता अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख भएको छ । सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा राजनीतिक दलहरूको प्रयासपछि अवस्था सामान्य बन्दै गएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सुरक्षा अवस्था सामान्यतर्फ उन्मुख भएको र थप प्रयास जारी रहेको बताए । उनका अनुसार प्रभावित केही गाउँपालिकाले सर्वपक्षीय सद्भाव बैठक आयोजना गरी अवस्था सामान्य बनाउनका लागि भूमिका खेलेका छन् ।

“विशेष गरी हरिनगर र भोक्राह नरसिंह गाउँपालिकाले आज सर्वपक्षीय सद्भाव बैठक आयोजना गरेका छन्, उक्त बैठकमा शान्ति तथा सुव्यवस्थामा खलल आउन नदिनका लागि सक्दो प्रयास गर्ने सहमति भएको छ”, उनले भने ।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार प्रशासनले आजै प्रभावित स्थानीय तहका प्रमुख र उपप्रमुखसँग र त्यसपछि विवादमा संलग्न दुवै पक्षबीच पनि जिल्लामा शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्ने विषयमा छलफल गर्दैछ ।

गत आइतबार राति दुई समूहबीच भएको विवादपछि असहज बनेको थियो । विवादका क्रममा भएको झडपमा गोली लागी एक जनाको मृत्यु भएको थियो । जिल्ला प्रशासन कार्यालयले अवस्था बिग्रन नदिन तत्कालै विभिन्न प्रभावित नगरपालिका र गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यु तथा निषेध आदेश जारी गरेको थियो ।

सो घटनाका सम्बन्धमा मङ्गलबार प्रधानमन्त्री वालेन्द्र शाहले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ती र दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको उल्लेख गर्दैै त्यसबारे अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनअनुसार कारबाही हुने स्पष्ट पारे ।

सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिरहेको र यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय तथा सुधारका कदम चालिने उनको भनाइ थियो । प्रधानमन्त्री शाहले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैलाई आह्वान गरे ।

गृह मन्त्रालयले सुनसरी घटनापछि अन्य जिल्लामा हुनसक्ने सम्भावित विवाद र झडपलाई मध्यनजर गर्दै ती जिल्लाको सुरक्षा अवस्थाबारे निरन्तर अनुगमन र समन्वय गरिरहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता एवम् सह–सचिव आनन्द काफ्लेले मन्त्रालयले विशेषगरी बाँके, कपिलवस्तु तथा मधेशका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गरी वर्तमान अवस्था, विभिन्न समुदायबीचको समन्वय र सद्भाव कायम राख्न भइरहेका प्रयासबारे जानकारी लिएको जानकारी दिए । उनले अहिले अन्य स्थानमा अवस्था सामान्य रहेको उल्लेख गर्दै सुनसरीमा पनि विभिन्न पक्षबीच वार्ताको प्रक्रियामार्फत समस्या समाधान भइरहेको बताए ।

गृह मन्त्रालयमा मन्त्री, सचिव तथा सुरक्षा निकायका अधिकारीहरूको सहभागितामा सुनसरी घटनापछि जिल्लागत सुरक्षा अवस्थाको समीक्षा समेत गरिएको उनले बताए ।

त्यसैगरी बुधबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अगुवाइमा सिंहदरबारमा सर्वदलीय छलफल भएको थियो । छलफलपछि नौ राजनीतिक दलले संयुक्त अपील जारी गर्दै सदियौंदेखि समाजमा कायम रहेको पारस्परिक भाइचारा र सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन आग्रह गरिएको थियो । अपीलमा आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति हामी सबै सचेत हुनु जरुरी रहेको उल्लेख थियो ।

“लोकतन्त्रमा जस्तो सुकै जटिल असन्तुष्टि र समस्याहरूको समाधान पनि शान्तिपूर्ण संवाद र सहमतिका माध्यमबाट मात्र सम्भव छ । आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण रूपमा राख्न सम्बन्धित सबै पक्षलाई हामी आह्वान गर्दछौँ”, अपीलमा भनिएको छ ।

छलफलपछि उक्त समस्या समाधानका लागि प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न, संवादलाई तल्लो तहसम्म पुर्‍याउन र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न आ–आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशन दिने सहमति भएको थियो ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार  १६ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।