नौ विधेयक संसदमा लैजाने मन्त्रिपरिषद्को निर्णय


काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले विभिन्न कानुन संशोधन तथा नयाँ कानुन निर्माणसँग सम्बन्धित नौ वटा विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसोको बैठकले नौ विधेयक संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सन्चारकर्मीलाई जानकारी दिए ।

उनकाअनुसार, बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी ऐन, खानी तथा खनिज पदार्थसम्बन्धी कानुन, सङ्क्रामक पशु रोग नियन्त्रण, राहदानी ऐन, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण), बालश्रम (निषेध तथा नियमित गर्ने, आन्तरिक वायुसेवाको दायित्व, मेलमिलाप सम्बन्धी ऐन तथा कर्मचारी सञ्चयकोष ऐन संशोधनसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो।

यस्तै, मन्त्रिपरिषद्ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ।

बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका खेटराज दाहाललाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, मन्त्रिपरिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौं संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्ले भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला र सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित विषयमा पनि निर्णय गरेको भए पनि सार्वजनिक विवरणमा त्यसको विस्तृत जानकारी उल्लेख गरिएको छैन।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार  १७ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।