जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

AI GENERATED IMAGE

पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाको तस्बिर ढाका विश्वविद्यालयको नयाँ सङ्ग्रहालयमा राखिएपछि बङ्गलादेशमा इतिहासको व्याख्या, राष्ट्रियता, धर्म र भाषासँग जोडिएको विवाद चर्किएको छ । सङ्ग्रहालयमा राखिएको तस्बिर विद्यार्थीले हटाएर च्यातेपछि यस विषयमा नयाँ बहस सुरु भएको हो ।

विश्वविद्यालयका विद्यार्थी अबु तैयब हाबिलदारले जिन्ना पाकिस्तानका संस्थापक भए पनि बङ्गाली भाषा र अधिकारको विरोध गरेकाले बङ्गलादेशमा उनको भूमिकालाई फरक रूपमा हेरिनुपर्ने बताए।

सन् १९४७ मा भारत विभाजनपछि पाकिस्तानको पूर्वी र पश्चिमी भागका रूपमा रहेका बङ्गलादेश र पाकिस्तान सन् १९७१ को युद्धपछि अलग भएका थिए । उक्त युद्धमा पाकिस्तानी सेनाबाट व्यापक अत्याचार भएको आरोप लाग्दै आएको छ ।

जिन्नाको मुस्लिम राष्ट्र निर्माणसम्बन्धी अभियानका कारण उनको विरासत बङ्गलादेशमा विवादित रहँदै आएको छ । राजनीतिक विश्लेषक अल्ताफ परवेजले इस्लामवादी राजनीतिमा नयाँ प्रतीकको खोजीका कारण जिन्नाको चर्चा बढेको बताए।

ढाका विश्वविद्यालय केन्द्रीय विद्यार्थी सङ्घ (डियुसिएसयु) ले भने जिन्नाको तस्बिर विश्वविद्यालयको इतिहासका विभिन्न घटनालाई समयअनुसार प्रस्तुत गरिएको प्रदर्शनीको हिस्सा भएको जनाएको छ । सङ्घका नेता एसएम फरहादले इतिहासका घटनालाई प्रदर्शन गर्नु गलत नभएको बताउँदै तस्बिर तोडफोडको आलोचना गरे ।

सङ्ग्रहालयमा जिन्नाका तीन तस्बिर राखिएका थिए । तीमध्ये एउटा सन् १९४८ मा ढाकामा उर्दूलाई पाकिस्तानको एकमात्र राज्यभाषा बनाउने धारणा व्यक्त गर्नुभएको घटनासँग सम्बन्धित थियो । आलोचकहरूले जिन्नालाई प्रमुख स्थान दिँदा भाषा आन्दोलन र स्वतन्त्रता सङ्घर्षमा शेख मुजीबुर रहमानको भूमिकालाई ओझेलमा पारिएको आरोप लगाएका छन् ।

सन् २०२४ मा शेख मुजीबकी छोरी तथा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकार विद्यार्थी आन्दोलनपछि अपदस्थ भएपछि बङ्गलादेशमा राजनीतिक इतिहास र नेताहरूको विरासतबारे नयाँ बहस सुरु भएको छ । फरहादले सङ्ग्रहालयलाई नयाँ सन्दर्भअनुसार अद्यावधिक गरिएको बताए। तर विद्यार्थी महाफुजुर रहमानले जिन्ना इतिहासको हिस्सा भएकाले उनको तस्बिर हटाउनु उचित नभएको बताए।

प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार  १३ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।