सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय


सिन्धुपाल्चोक । निरन्तरको वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जिल्लाका सबै राजमार्ग तथा सडकमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सूचनाजारी गर्दै असोज ८ गतेदेखि असोज १० गतेसम्म बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाका सबै राजमार्ग तथा सडकमा सवारी आवागमनबन्द रहने जनाएको छ ।

 नेपाल मौसम विज्ञान विभागका अनुसार असोज ८ देखि ११ गतेसम्म बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना छ ।

जिल्लाका सबै स्थानमा भारी वर्षाबाट हुन सक्ने बाढी, पहिरोको जोखिम आकलनपछि राति सवारी आवागमन रोक्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उक्त कार्यालयले आपत्कालीन अवस्था परेमा मौसम विज्ञान विभागको हटलाइन ११५५, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार  १४ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।