नारायणी नदी तटबन्ध भत्काएर बस्तीमा पस्यो


चितवन, असोज ११ गते । लगातार आएको बाढीले नारायणी नदी पश्चिम चितवनको विभिन्न तीन स्थानबाट बस्ती पसेको छ ।

नारायणी नदीमा पानीको बहाव बढेसँगै भरतपुर महानगरपालिका–१७ मझुवामा तटबन्ध भत्काएर बाढी बस्तीमा पसेको हो । सिँचाइ तथा नारायणी नदी व्यवस्थापन कार्यालयका प्रमुख नारायण सुवेदीले आज बिहान ६ः५५ बजेको अवस्थामा नदीको पानी तटबन्ध भत्काएर आवासीय क्षेत्रमा प्रवेश गरेको जानकारी दिए । लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि तटबन्धमा दबाब बढेको र मझुवा क्षेत्रमा तटबन्ध भत्किएर बाढी बस्तीमा प्रवेश गरेको सुवेदीले जानकारी दिए ।

बाढी बस्तीमा प्रवेश गरेपछि स्थानीयवासी प्रभावित भएका छन् । नदी किनारका अन्य क्षेत्रमा समेत जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पसेको स्थान नजिकै र प्रभावित क्षेत्रका वस्ती सुरक्षित स्थानमा सारिएको छ ।

यस्तै गरी भरतपुर महानगरपालिका वडा नंं २६ को सिसैमा पनि तटवन्धन कटान गरेको उनले जानकारी दिए। यस्तै गरी वडा नंं २८ को मेघौली क्षेत्रमा समेत नारायणी नदी बस्ती पसेको छ ।

तीनै स्थानमा आवश्यक सुरक्षाको प्रवन्ध मिलाएपनि तत्काल रोकथाम गर्न सकिने अवस्था नरहेको उनले जानकारी दिए । यस अगाडि पनि यी स्थानमा नदी नियन्त्रणको लागि रोकथामका उपाय गरिएको थियो । अहिले प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, स्थानीय प्रतिनिधि तथा सुरक्षाकर्मी परिचालन गरि काम भइराखेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्याल अहिलेसम्म मानवीय क्षति भने नभएको जानकारी दिए । नदी तीन स्थानबाट वस्ती प्रवेश गरेकाले जोखिम भएका स्थानका वस्तीलाई स्थानान्तरण गर्ने कार्य भइराखेको बताए ।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।