बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या : तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्


तनहुँ । गत आर्थिक वर्षको स्वीकृत वार्षिक विकास कार्यक्रममा समावेश भएका तनहुँका केही आयोजना विभिन्न प्राविधिक, प्रशासनिक तथा बजेटसम्बन्धी समस्याका कारण कार्यान्वयनमा आउन सकेका छैनन् ।

बजेट रोक्का, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अभाव, सडकको ग्रेड तथा रेखाङ्कन मिलाउनुपर्ने समस्या र आवश्यक संरचनाको स्वरूप परिवर्तन गर्नुपर्ने अवस्थाका कारण पूर्वाधार विकास कार्यालयका केही आयोजना अघि बढाउन कठिन भएको हो ।

पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इन्जिनियर किरण श्रेष्ठले स्वीकृत वार्षिक विकास कार्यक्रममा परेका केही आयोजना कार्यान्वयन गर्न नसकिएको बताए। कतिपय आयोजनामा बजेट उपलब्ध हुन नसकेको, कतिपयमा प्राविधिक तयारी पूरा नभएको तथा केही आयोजनामा स्थलमै देखिएका समस्याका कारण काम अघि बढाउन नसकिएको उनले बताए। 

देवघाट गाउँपालिका–५ स्थित रेडक्रस मार्ग र भानु नगरपालिका–९ तथा १० स्थित चितीखोला–सुकेधारा मोटरबाटो निर्माण तथा स्तरोन्नति आयोजना बजेट रोक्का भएका कारण कार्यान्वयनमा आउन सकेनन् ।

यी आयोजनाका लागि गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयबाट बजेट रोक्का भएपछि कार्यालयले प्रक्रिया अघि बढाउन नसकेको जनाएको छ । स्वीकृत कार्यक्रममा समावेश भए पनि बजेट नै कार्यान्वयन गर्न सक्ने अवस्था नभएपछि आयोजना अघि बढाउन समस्या भएको हो ।

विशेषगरी चितीखोला–सुकेधारा मोटरमार्ग भानु नगरपालिका–९ र १० का बस्ती तथा क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने महत्वपूर्ण आयोजना भए पनि बजेट रोक्काका कारण निर्माण तथा स्तरोन्नतिको काम अगाडि बढ्न नसकेको कार्यालयले जनाएको छ ।

ऋषिङ गाउँपालिका–८ र ५ जोड्ने सिन्धुस खोला ट्रस ब्रिज पनि कार्यान्वयन हुन नसकेको आयोजनामध्ये एक हो । इन्जिनियर श्रेष्ठका अनुसार आयोजना अघि बढाउने समयमा आवश्यक विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० तयार नभएको कारण कार्यान्वयन गर्न कठिन भएको हो । पुल निर्माणका लागि आवश्यक प्राविधिक अध्ययन, डिजाइन तथा लागत अनुमानलगायतका आधारभूत प्रक्रिया पूरा गर्नुपर्ने भएकाले तत्कालै निर्माण कार्य अघि बढाउन नसकिएको उनले बताए।

स्थानीय तहका दुई वडालाई जोड्ने उक्त पुल निर्माण हुन सकेमा स्थानीयको आवतजावत सहज हुनाका साथै सडक सञ्जाल विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको थियो ।

भानु नगरपालिका–७ स्थित कार्की गाउँदेखि गौलीगाउँ मोटरबाटो प्राविधिक तथा जग्गासम्बन्धी समस्याका कारण कार्यान्वयनमा आउन सकेन । हाल सञ्चालनमा रहेको बाटोको ग्रेड उच्च रहेको र सडकलाई आवश्यक मापदण्डअनुसार निर्माण गर्न रेखाङ्कन परिवर्तन गर्नुपर्ने अवस्था देखिएको कार्यालयले जनाएको छ । 

सडकको ग्रेड सुधार गर्न रेखाङ्कन परिवर्तन आवश्यक भए पनि त्यसका लागि आवश्यक जग्गा व्यवस्थापन तथा स्थानीयस्तरमा देखिएको समस्या समाधान नभएसम्म निर्माण अघि बढाउन सक्ने अवस्था नरहेको कार्यालयको भनाइ छ ।

भानु नगरपालिका–९ र १० स्थित फ्याउसे–कटुवा चितीखोलामा कल्भर्ट निर्माण गर्ने योजना स्वीकृत कार्यक्रममा रहे पनि कार्यान्वयन हुन सकेन । कार्यालयका अनुसार उक्त स्थानमा निर्माण गर्न प्रस्ताव गरिएको कल्भर्टका लागि आवश्यक स्पान बढी देखिएपछि सामान्य कल्भर्टभन्दा सडक पुल निर्माण गर्नुपर्ने भएको हो । 

त्यसैगरी, भानु नगरपालिका–४ स्थित धनञ्जय मार्ग स्तरोन्नति आयोजना पनि कार्यान्वयन हुन नसकेको आयोजनाको सूचीमा परेको छ । 

पूर्वाधार विकास कार्यालयले वार्षिक कार्यक्रममा आयोजना समावेश गर्नु मात्रै पर्याप्त नभई त्यसको कार्यान्वयनका लागि आवश्यक बजेट, डिपिआर, जग्गा व्यवस्थापन, प्राविधिक अध्ययन तथा स्थलको वास्तविक अवस्था सुनिश्चित हुनुपर्ने जनाएको छ ।

इन्जिनियर श्रेष्ठका अनुसार आयोजना कार्यान्वयनका क्रममा देखिने यस्ता समस्या समयमा नै समाधान हुन नसक्दा बजेट विनियोजन भए पनि निर्माण कार्य सुरु गर्न कठिन हुने गरेको छ । 

प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार  ०६ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।