दसैँमा पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली


काठमाडौँ । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेसिने क्रम जारी छ ।

दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन् ।

काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि विदेश जाने यात्रुको भीडभाड त्यत्तिकै देखिन्छ । विमानस्थल हुँदै विभिन्न देशका लागि प्रस्थान गर्ने नेपालीमध्ये अधिकांश रोजगारीको खोजीमा विदेश जाने युवायुवती देखिन्छन् । यसका साथै उच्च शिक्षा हासिल गर्न, परिवारका सदस्यलाई भेट्न तथा अन्य व्यक्तिगत कामका लागि विदेश जाने नेपाली पनि विमानस्थलमा देखिएको छ । 

चाडपर्वका बेला परिवारसँग बसेर खुसी साटासाट गर्ने, आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने र मान्यजनबाट आशीर्वाद लिने नेपाली परम्परा छ । तर केही वर्षदेखि रोजगारी, आर्थिक अवसर र सुनौलो भविष्यको खोजीमा विदेसिने युवाको सङ्ख्या बढ्दो छ ।  

अन्तरराष्ट्रिय विमानस्थलमा देखिने युवाको भीडले नेपाली समाजको बदलिँदो आर्थिक तथा सामाजिक अवस्थालाई चित्रण गर्छ । आफ्नै गाउँघर, सहर–बजार अर्थात् स्वदेशमा अध्ययन तथा पेसा–व्यवसाय गर्न छोडेर विदेशतर्फ आकर्षित हुने आमप्रवृत्तिका कारण गाउँघर रित्तो भई खेतबारी बाँझिएको अवस्था छ । 

यसैबीच, रोजगारीका लागि विदेसिन लागेका सिरहाका लखनकुमार यादवले नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा विदेश जान बाध्य भएको बताए । उनले भने, “योग्यता र क्षमताअनुसारको काम स्वदेशमै पाउने सुनिश्चित भइदिएको भए दसैँको बीचमा परिवार छाडेर विदेश जाने मन थिएन । आफूसहित परिवारको भविष्यका लागि विदेश जाँदैछु ।” 

प्रकाशित मिति: ६ कार्तिक २०८३, शुक्रबार  ०७ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।