चाडपर्वले बढायो मुलुकको वैदेशिक व्यापार, तीन महिनामै साढे ६ खर्बको आयात


काठमाडौँ । नेपालीहरुको प्रमुख चाडपर्व सुरु भएसँगै वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागका तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज) मा मात्रै ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँको वस्तु आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँको वस्तु आयात भएकोमा यस वर्ष आयात ३८.१८ प्रतिशतले बढेको हो।

मासिक तथ्यांक हेर्दा असोजमा मात्रै २ खर्ब ४६ अर्ब रुपैयाँको वस्तु आयात भएको छ। भदौमा २ खर्ब १४ अर्ब रुपैयाँको आयात भएको थियो। गत चैतदेखि हरेक महिना २ खर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात हुँदै आएको छ। अन्तर्राष्ट्रिय बजारमा वस्तुको मूल्यवृद्धि र पेट्रोलियम पदार्थको खपत बढ्नुले पनि आयातमा हुने खर्च बढाएको देखिन्छ।

यस अवधिमा वस्तु निर्यातमा पनि उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ७२ अर्ब ७८ करोड रुपैयाँको निर्यात भएको थियो। यससँगै निर्यात ५७.०३ प्रतिशतले बढेको छ। निर्यातको वृद्धिदर आयातको भन्दा बढी भए पनि कुल व्यापारको ठूलो हिस्सा अझै आयातमै निर्भर छ।

आयात र निर्यातबीचको अन्तरका कारण व्यापार घाटा भने बढेको छ। समीक्षा अवधिमा नेपालको व्यापार घाटा ३४.७१ प्रतिशतले वृद्धि भई ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा यस्तो घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ थियो। निर्यात बढे पनि आयातको तुलनामा निर्यातको परिमाण कम हुँदा व्यापार घाटामा सुधार हुन सकेको छैन।

पहिलो तीन महिनामा नेपालको कुल वैदेशिक व्यापार ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ थियो। यसअनुसार कुल वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षको पहिलो तीन महिनामा कुल व्यापारमा निर्यातको हिस्सा १३.४६ प्रतिशत रहेकामा चालु आर्थिक वर्षमा १५.०२ प्रतिशत पुगेको छ। आयातको हिस्सा भने ८६.५४ प्रतिशतबाट घटेर ८४.९८ प्रतिशतमा झरेको छ।

प्रकाशित मिति: ११ कार्तिक २०८३, बुधबार  १६ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।