असोजसम्म १६ अर्ब २३ करोड वैदेशिक लगानी स्वीकृत


काठमाडौँ। चालु आर्थिक वर्षको असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडीआई) स्वीकृत भएको छ ।

उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म कुल ४ सय २२ उद्योग दर्ता भएका छन् । असोजसम्म अटोमेटिक रुटबाट ४ सय १० र अप्रुभल रुटबाट १२ उद्योग दर्ता हुन आएका छन् ।

असोजमा मात्र ५ अर्ब १० करोड बराबर एफडीआई स्वीकृत भएको छ । यस महिना कुल ९४ उद्योग दर्ता भएका छन् । जसमध्ये ८८ उद्योग अटोमेटिक रुटबाट दर्ता हुन आएको देखिन्छ ।

असोजसम्म दर्ता भएका उद्योगमध्ये अधिकांश साना प्रकृतिका छन् । साना उद्योग ४ सय १७, मझौला २ र ठूला ३ मात्र दर्ता भएको विभागले जनाएको छ । असोजमा आएका सबै उद्योग साना प्रकृतिका थिए ।

यस वर्ष स्वीकृत लगानीमा संख्यात्मक रूपमा सूचना प्रविधिमूलक उद्योगको बाहुल्य छ । कुल २ सय ५२ उद्योग सूचना प्रविधिमूलक उद्योग दर्ता भएका छन् ।

त्यस्तै पर्यटनमूलक उद्योग १ सय ८, सेवामूलक ३३, उत्पादनमूलक २५ र ऊर्जा तथा कृषिमा २र२ उद्योग दर्ता भएको विभागले जनाएको छ ।

रकमका हिसाबले सबैभन्दा ठूलो लगानी पर्यटनमा स्वीकृत भएको छ । पर्यटनमा कुल ६ अर्ब ८ करोड लगानी स्वीकृत भएको छ । ऊर्जामा ४ अर्ब र पूर्वाधारमूलक उद्योगमा ३ अर्ब ५७ करोड एफडीआई स्वीकृत भएको छ ।

उत्पादनमूलक उद्योगमा १ अर्ब ६० करोड र सूचना प्रविधिमूलकमा ९२ करोड ८३ लाख रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको विभागको तथ्यांक छ ।

प्रकाशित मिति: १२ कार्तिक २०८३, बिहिबार  १४ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।