औद्योगिक प्रदूषण कम गर्दै स्वच्छ ऊर्जा प्रयोगलाई बढाउने योजना अघि बढ्यो


काठमाडौँ । विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसनले नेपाल सरकारलाई औद्योगिक प्रदूषण कम गर्न स्वच्छ ऊर्जा प्रयोगका लागि उद्योगहरूलाई प्रोत्साहन गर्न नेपाल स्वच्छ वायु तथा समृद्धि परियोजना अघि बढाइएको छ ।

एसोसिएसनले सो परियोजनाका लागि तीन करोड अमेरिकी डलर सहुलियत ऋण र ४० लाख अमेरिकी डलर अनुदान दिने सम्झौता भइसकेको छ । सो परियोजना कार्यान्वयन गर्न वित्तीय मध्यस्थकर्ता बैंकको रूपमा राष्ट्रिय वाणिज्य बैंकले कर्जा प्रदान गर्न नेपाल सरकार अर्थ मन्त्रालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र बैंकबीच सम्झौता भएको राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए ।

उद्योगहरूलाई अनुदान उपलब्ध गराउन नेपाल सरकार उद्योग मन्त्रालय, उद्योग विभाग र बैंकबीच सम्झौता सम्पन्न भएको सूचना अधिकारी घिमिरेले बताए । यो परियोजनाबाट करिब ४०० उद्योग लाभान्वित हुने बताइएको छ ।

परियोजनामार्फत औद्योगिक प्रदूषणको कारण खस्किएको वायुको गुणस्तरमा उल्लेख्य सुधार आउने दाबी गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकले हरित वित्त प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको जनाएको छ ।

प्रकाशित मिति: १२ कार्तिक २०८३, बिहिबार  १६ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।