काठमाडौँ । सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम पालनासम्बन्धी जनचेतना अभिवृद्धि गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘डिजिटल प्लेटफर्म’ को प्रयोगलाई तीव्रता दिएको छ ।
कम खर्चमा छोटो समयमै धेरै नागरिकसम्म सूचना तथा सन्देश पुर्याउन सकिने भएपछि कार्यालयले सामाजिक सञ्जाललगायत डिजिटल माध्यमलाई सचेतना अभियानको प्रभावकारी माध्यमका रूपमा उपयोग गर्न थालेको हो ।
परम्परागत रूपमा भौतिक उपस्थितिमा सञ्चालन गरिने सचेतनामूलक कार्यक्रमभन्दा डिजिटल माध्यमबाट प्रवाह गरिने सूचनाको पहुँच व्यापक र प्रभावकारी हुने भएकाले यसको प्रयोगलाई प्राथमिकता दिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयले विभिन्न सामाजिक सञ्जालमार्फत ट्राफिक नियम, सडक सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण, सुरक्षित यात्रा तथा सडक अनुशासनसम्बन्धी सचेतनामूलक सामग्री नियमित रूपमा सार्वजनिक गर्दै आएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले डिजिटल प्लेटफर्ममार्फत एकैपटक ठूलो सङ्ख्यामा नागरिकसम्म पुग्न सकिने भएकाले ट्राफिक सचेतना अभियान प्रभावकारी बन्दै गएको बताए ।
उनका अनुसार डिजिटल माध्यमबाट ट्राफिक नियमको जानकारी दिन, सडक प्रयोगकर्तालाई जिम्मेवार बनाउन तथा सम्भावित दुर्घटनाबाट बच्न अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउन सहज भएको छ । यसबाट सेवाग्राहीको प्रतिक्रिया पनि छिटो प्राप्त हुने र लक्षित समुदायसम्म सन्देश पुर्याउन सकिने उनको भनाइ छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको असारदेखि कात्तिक १२ गतेसम्म सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएका सचेतनामूलक सामग्रीबाट दुई करोड चार लाख १५ हजार ५७१ जनासम्म पहुँच पुगेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार असार महिनामा ६० लाख ७६ हजार ५८५ जना, साउनमा ३५ लाख ४१ हजार ११३ जना र भदौमा १३ लाख १४ हजार ८१२ जनासम्म सचेतनामूलक सामग्रीको पहुँच पुगेको थियो ।
त्यस्तै, असोज महिनामा ४५ लाख ५८ हजार ७०३ जना तथा कात्तिक १२ गतेसम्ममा एक लाख चार हजार ९३८ जनासम्म ती सामग्री पुगेका छन् ।
विशेषगरी सामाजिक सञ्जालमा सार्वजनिक गरिने श्रव्यदृश्य सामग्री, तस्बिर, सूचना तथा सन्देशले सर्वसाधारणलाई सहज रूपमा जानकारी लिन र आवश्यकताअनुसार अरूसम्म साझा गर्न सहयोग पुर्याएको प्रवक्ता सुवेदीले बताए । उनले डिजिटल माध्यमबाट सञ्चालित अभियानले ट्राफिक प्रहरीको सचेतना कार्यक्रमको पहुँच विस्तार गर्नुका साथै सडक सुरक्षासम्बन्धी सन्देश समुदायस्तरसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनसँगै नागरिकमा सचेतना अभिवृद्धि गर्नु पनि उत्तिकै आवश्यक मानिन्छ । तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने, जथाभावी सडक पार गर्ने तथा लापरवाहीपूर्वक सवारी चलाउनेजस्ता गतिविधि सडक दुर्घटनाका प्रमुख जोखिमका रूपमा रहेका छन् ।
यस्ता जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीले नियमित चेकजाँच तथा कारबाहीसँगै जनचेतनामूलक अभियानलाई पनि निरन्तरता दिँदै आएको जनाएको छ । डिजिटल माध्यमबाट समयमै सूचना र सन्देश प्रवाह गर्न सके सडक प्रयोगकर्ताको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सकिने कार्यालयको विश्वास छ ।
प्रविधिको बढ्दो प्रयोगसँगै नागरिकको ठूलो हिस्सा सामाजिक सञ्जालमा आबद्ध भइरहेका बेला ट्राफिक प्रहरीले पनि यसलाई सडक सुरक्षा अभियानको प्रभावकारी माध्यमका रूपमा उपयोग गर्न थालेको हो । डिजिटल प्लेटफर्मको प्रयोगले ट्राफिक प्रहरी र सर्वसाधारणबीच सूचना आदानप्रदान सहज बनाउनुका साथै सडक सुरक्षा अभियानलाई थप व्यापक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।






