कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द


हेटौँडा । अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ जोड्ने कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज र भोलि (कात्तिक १३ र १४ गते) बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म कान्ति राजमार्गमा सवारी आवागमनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिए ।

उनका अनुसार बङ्गालको खाडीमा बनेको अर्नब चक्रवातको प्रभावका कारण जिल्लामा बिहीबारदेखि निरन्तर वर्षा भइरहेकाले सडक तथा राजमार्गमा बाढीपहिरोको उच्च जोखिम देखिएको हो ।

सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको जनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले उक्त अवधिमा कान्ति राजमार्गमा सवारीसाधन सञ्चालन नगर्न तथा यात्रा नगर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: १३ कार्तिक २०८३, शुक्रबार  १७ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।