काठमाडौँ । हिम पावर हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो । जसअनुसार वैदेशिक रोजगारीमा रहेकाले आजसम्म मात्र आवेदन दिन सक्ने छन् ।
कम्पनीले जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ४ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ४ लाख २२ हजार ५०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।






