फोटोनका १४ वटा विद्युतीय सवारीसाधन भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण


काठमाडौँ। फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा फोटोन टीएम विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ। एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रालि अन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले व्यावसायिक क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्ने उद्देश्यले उक्त सवारीसाधन हस्तान्तरण गरेको हो।

‘स्मार्टर वर्क्स, ग्रिनर फ्युचर’ नारासहित आयोजित हस्तान्तरण कार्यक्रमले दुवै संस्थाको वातावरणमैत्री यातायात प्रणाली विकास तथा दिगो व्यावसायिक अभ्यासप्रतिको साझा प्रतिबद्धता झल्काएको छ।

भाटभटेनी सुपरमार्केटले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा विद्युतीय सवारीसाधन समावेश गर्नुले व्यवसाय सञ्चालनसँगै वातावरण संरक्षणलाई समेत प्राथमिकता दिएको देखाएको छ। फोटोन टीएम विद्युतीय सवारीसाधन वातावरणमैत्री प्रविधि, सञ्चालन खर्चमा बचत र भरपर्दो कार्यक्षमताका कारण व्यावसायिक ढुवानीका लागि उपयुक्त विकल्प मानिएको कम्पनीले जनाएको छ।

एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यले नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

उनले भने, “भाटभटेनीजस्तो लाखौँ नेपालीको विश्वास जित्न सफल संस्थासँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ। १४ वटा फोटोन टीएम विद्युतीय सवारीसाधनको हस्तान्तरण व्यावसायिक उपलब्धि मात्र नभई दिगो यातायातप्रतिको बढ्दो विश्वासको उदाहरण पनि हो। नेपाली व्यवसायको आवश्यकतालाई ध्यानमा राख्दै विश्वसनीय र आधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो।”

त्यसैगरी, भाटभटेनी सुपरमार्केटका निर्देशक पहलमान गुरुङले वातावरणमैत्री व्यवसाय सञ्चालनलाई संस्थाले प्राथमिकतामा राख्दै आएको बताए। उनले फोटोन मोटर्ससँगको सहकार्यले दिगो ढुवानी प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यस्ता पहलले नेपालका अन्य व्यवसायलाई समेत विद्युतीय सवारीसाधनको प्रयोग गर्न प्रोत्साहित गर्ने बताए।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा व्यावसायिक ढुवानी क्षेत्रमा पनि यसको सम्भावना विस्तार हुँदै गएको छ। सञ्चालन खर्च न्यूनीकरण तथा वातावरणीय प्रभाव कम गर्न विद्युतीय व्यावसायिक सवारीसाधन प्रभावकारी विकल्प बन्दै गएका छन्।

यस हस्तान्तरणसँगै फोटोन मोटर्स नेपालले नेपालको विद्युतीय व्यावसायिक सवारीसाधन बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ। साथै, नेपाली व्यवसायलाई आवश्यक आधुनिक, भरपर्दो र वातावरणमैत्री यातायात समाधान उपलब्ध गराउने प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार  १० : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।