चीन र रुसमाथि पनि जासुसी गरिरहेको ट्रम्पको दाबी


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले अमेरिकाको जासुसी गरिरहेको भए पनि अमेरिकाले उनीहरूको निगरानी गरिरहेको र यसमा आफूहरू अझ सक्षम रहेको दाबी गरेका छन् ।

आइतबार आयोवामा रिपब्लिकन उम्मेदवारहरूको चुनावी सभालाई सम्बोधन गर्दै उनले चीन र रुसले अमेरिकामाथि जासुसी गरिरहेको प्रसङ्ग उल्लेख गरे । “उनीहरूले हाम्रो जासुसी गरिरहेका छन्, तर हामी पनि उनीहरूको जासुसी गर्छौं र अझ राम्रोसँग गर्छौं”, ट्रम्पले भनेका थिए ।

अमेरिकी सैन्य कर्मचारी र प्रतिष्ठानलाई लक्षित गरी चीनले गुप्तचर गतिविधि सञ्चालन गरेको आरोपबारे अनुसन्धान भइरहेका बेला उनको यस्तो भनाइ आएको हो ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार चिनियाँ नागरिक लिरेन ‘रायन’ लाइ र युएन्स चेनलाई चिनियाँ सरकारको एजेन्टका रूपमा काम गर्ने षड्यन्त्र गरेको अभियोगमा अक्टोबर ३० मा जनही ३० महिनाको जेल सजाय सुनाइएको थियो । उनीहरूले चीनको राज्य सुरक्षा मन्त्रालयको निर्देशनमा अमेरिकी सेनाभित्र गुप्तचर स्रोत भर्ती गर्ने प्रयास गर्नुका साथै संवेदनशील सूचना उपलब्ध गराउने व्यक्तिलाई गोप्य रकम दिने व्यवस्था मिलाएका थिए ।

अदालतका कागजातअनुसार उनीहरूले सन् २०२२ जनवरीमा क्यालिफोर्नियाको लिभरमोरमा ‘डेड ड्रप’ विधिबाट करिब १० हजार अमेरिकी डलर भुक्तानीको व्यवस्था गरेका थिए । उनीहरूले अमेरिकी सैन्य प्रतिष्ठान, नौसेनाका कर्मचारी र सैनिक भर्ती केन्द्रका तस्बिर तथा सम्भावित गुप्तचर लक्ष्यका व्यक्तिगत विवरणसमेत सङ्कलन गरेका थिए । अमेरिकी सङ्घीय अनुसन्धान ब्युरोले सन् २०२५ जुन २७ मा दुवैलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार  १५ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।