हुम्ला । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सास्थित यारी भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा कर्मचारी अभाव, इन्टरनेट, सञ्चार, सडक र मौसम प्रतिकूलताबीच लक्ष्यभन्दा तीन गुणाभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
उक्त कार्यालयका प्रमुख रामराज जैसीका अनुसार त्यस आवमा र ६ लाख द्ई हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा लक्ष्यको तुलनामा तीन गुणाभन्दा बढी अर्थात १९ लाख छ हजार रुपैयाँ सङ्कलन भएको जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा ६ लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएमा हालसम्म दुई लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यस नाकाबाट सिमेन्ट, छड तथा अन्य विलासिताका सामग्री आयात हुँदा अन्तःशुल्कसमेत उठ्ने गरेको पाइएको छ ।
भन्सारसम्बन्धी अनलाइन प्रणाली सञ्चालन गर्न आवश्यक इन्टरनेट सेवा प्रभावकारी नहुँदा दैनिक कामकाजमै रेकर्ड राख्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिए । उक्त भन्सार कार्यालयमा भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण कर्मचारीको समेत अभाव रहेको बताइएको छ ।
त्यस क्षेत्रमा पुग्ने सडक पहुँचको असहज अवस्था र बारम्बार हुने हिमपातले कर्मचारीलाई स्थायी रुपमा टिकाउन समस्या परेको जानकारी दिइएको छ । त्यहाँ खटिएका कतिपय जनशक्तिलाई भन्सार प्रक्रिया र करसम्बन्धी जानकारी कमीले पनि राजस्व सङ्कलन र भन्सार सेवा व्यवस्थापनमा चुनौती रहेको प्रमुख जैसीले बताए ।
हिल्सा नाकामा आवश्यक क्वारेन्टाइनको व्यवस्था नहुँदा विशेषगरी कृषि तथा पशुजन्य वस्तुको निर्यातमा समस्या हुने गरेको छ । त्यस क्षेत्रमा आवश्यक पूर्वाधार र प्राविधिक व्यवस्थापन नहुँदा नाकाबाट सम्भावित व्यापारिक गतिविधिलाई थप विस्तार गर्न कठिनाइ भइरहेको कार्यालयले जनाएको छ ।
पश्चिम नेपालबाट चीनसँगको व्यापारिक सम्बन्ध र सीमावर्ती व्यापारका दृष्टिले महत्त्वपूर्ण मानिने हिल्सा नाकामा भन्सार पूर्वाधार, दक्ष जनशक्ति, भरपर्दो सञ्चार तथा इन्टरनेट सेवा र क्वारेन्टाइन व्यवस्थापन गर्न सके व्यापारिक गतिविधि विस्तारसँगै राजस्व सङ्कलनमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ । रासस






