काठमाडौँ । सन् २०२६ को अक्टोबरमा एक लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार गत वर्षको अक्टोबर महिनाको तुलनामा यसवर्ष चार हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।
सन् २०२५ को अक्टोबरमा एक लाख २८ हजार ४४३ विदेशी पर्यटक नेपाल आएका थिए । यस वर्षको अक्टोबरमा उक्त संख्या चार हजार ३७१ ले बढेको हो ।अघिल्लो महिना अर्थात् सन् २०२६ को सेप्टेम्बरमा ८८ हजार २४८ पर्यटक नेपाल भित्रिएका थिए ।
बोर्डका अनुसार सबैभन्दा बढी १७ हजार ४३७ अमेरिकी पर्यटकको आगमन भएको हो । अघिल्लो वर्ष यसै महिनामा १३ हजार २८६ अमेरिकी पर्यटक आएका थिए । यस वर्ष अक्टोबर महिनामा १२ हजार ९७ भारतीय पर्यटक नेपाल भ्रमणमा आएकामा अघिल्लो वर्षको अक्टोबरमा १७ हजार २९८ थियो ।
सन् २०२६ को अक्टोबर महिनामा चीनबाट ११ हजार ६९५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । चौथो स्थानमा बेलायती पर्यटकको आगमन भएको छ ।
चौथो स्थानमा रहेको बेलायतबाट नौ हजार ३८५ र पाँचौं स्थानमा रहेको अस्ट्रेलियाबाट नौ हजार ३५२ पर्यटक नेपाल भित्रिएका छन् ।
यसैगरी, जर्मनीबाट ६ हजार ११४, श्रीलंकाबाट पाँच हजार ५६०, बंगलादेशबाट चार हजार ८९३, फ्रान्सबाट चार हजार १६४ र म्यानमारबाट तीन हजार २५ पर्यटक नेपाल आएका छन् ।
पर्यटन बोर्डको तथ्यांकले नेपालको पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षण कायम रहेको देखाएको छ। विशेष गरी अमेरिका, भारत र चीनलगायतका प्रमुख पर्यटन स्रोत बजारबाट उल्लेख्य संख्यामा पर्यटक आउनुले नेपालको पर्यटन क्षेत्रका लागि सकारात्मक संकेत गरेको छ।
क्षेत्रगत आधारमा हेर्दा अक्टोबरमा सबैभन्दा बढी पर्यटक युरोपबाट आएका छन् । युरोपेली मुलुकबाट ३९ हजार ८७७ पर्यटक नेपाल भित्रिएका छन् । यो कुल पर्यटक आगमनको ३०।०२ प्रतिशत हो । गत वर्षको अक्टोबरमा युरोपबाट १५ हजार १४८ पर्यटक आएका थिए ।






