ओमाननजिक भारतको झण्डा बोकेको मालवाहक जहाजमा अज्ञात हवाई वस्तुले आक्रमण गर्दा एक भारतीय नाविकको मृत्यु भएको भारत सरकारले मङ्गलबार जनाएको छ ।
भारतीय जहाजरानीमन्त्री सर्वानन्द सोनोवालका अनुसार घटनाका बेला ट्याङ्कर एमएसभी अल जुसुफीमा १४ जना भारतीय नाविक सवार थिए । ओमानी तटरक्षकले १३ जनालाई सुरक्षित रूपमा उद्धार गरेको उनले बताए।
सामाजिक सञ्जालमा जारी वक्तव्यमा सोनोवालले गुजरातका नाविक गान्धार नाहिम अजिजको मृत्यु भएको खबरले आफू दुःखी भएको उल्लेख गरेका छन ।
सन् २०२५ मा तीन लाख २० हजारभन्दा बढी सक्रिय नाविक रहेको भारत विश्वव्यापी व्यापारिक ढुवानी क्षेत्रमा सबैभन्दा धेरै नाविक उपलब्ध गराउने देशमध्ये एक हो ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता हर्मुज जलघाँटीमा भएका आक्रमणमा भारतका धेरै नाविकको मृत्यु भएको छ ।
भारतको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय जलमार्गमा निर्बाध र सुरक्षित आवागमन सुनिश्चित गर्न आह्वान गर्दै व्यावसायिक जहाजमाथि भएका आक्रमणको बारम्बार निन्दा गर्दै आएको छ ।






