बैंकिङ्ग कसुर ऐन संशोधन गरिने, बैंकरको मनोबल उच्च हुने

0
Shares

वित्तीय क्षेत्रको जनशक्तिको मनोबल बढाउने काम गभर्नर महाप्रसाद अधिकारीले गरेका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिले बैंकिङ्ग कसुर ऐन संशोधन गरिने भएपछि बैंक वित्तीय संस्थामा कार्यरत कर्मचारीको मनोबल बढ्ने भएको हो ।

वित्तीय क्षेत्रसँग सम्बन्धित कानूनहरुलाई आवश्यकता अनुसार समसामयिक बनाउन बैंकिङ्ग कसुर ऐन, २०६४ र विनियम अधिकार पत्र ऐन, २०३४ को संशोधन प्रस्ताव नेपाल सरकार समक्ष पेश गरिने गभर्नर अधिकारले बताए ।

बैंकहरुले कर्जा, सञ्चालन, बजार आदि जोखिमहरु बैंकिङ्ग क्षेत्रका अन्तर्निहित जोखिमहरुलाई बैंकहरुले न्यूनीकरण गर्न सक्छन् । तर, निर्मुल गर्न सक्दैनन् । यी जोखिमबाट हुनसक्ने हानीलाई खाम्ने पूँजी राख्नुपर्ने व्यवस्था लागू गरी निक्षेपकर्ताको हित तथा बैंकिङ्ग क्षेत्रको स्थायित्वको लागि काम भएको छ ।

विगत केही समय देखि बैंकिङ्ग कसूर तथा सजाय सम्बन्धी ऐन अन्तर्गत कसूरको अनुसन्धान तहकिकातको क्रममा मुलतः कर्जा प्रवाहसँग सम्बन्धित कुनै कागजातमा हस्ताक्षर गरेकै आधारमा गुण, दोष नकेलाई सम्पूर्ण कर्मचारीहरुलाई विपक्षी बनाउने चलनले बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुमा असल नियतले काम गर्दागर्दै पनि अनाहकमा थुनिनुपर्ने तथा लामो कानूनी प्रक्रियामा संलग्न हनुपर्ने त्रासले कायम थियो।

यसले निर्णय तथा जोखिम बहन गर्ने क्षमतामा ह्रास आएको तथा सर्वसाधारणको पनि बैंकर प्रति संशय पैदा भई सम्पूर्ण बैंकिङ्ग क्षेत्रमा पर्न सक्ने नकारात्मक असरलाई सम्बोधन गरी बैंकिङ्ग क्षेत्रमा विश्वास बढाउनका लागि सम्बन्धित निकायहरुमा आवश्यक पहल गरिदिन बैंकर्स संघले अनुरोध गर्दै आएको छ ।

बैंकर्स संघको अनुरोध अनुसार ऐन नियमहरु संशोधन गरेर समय सापेक्ष बनाइने आश्वासन गभर्नर अधिकारीले दिए । यो समस्याले राम्रा व्यक्तिहरु बैंकिङ्ग क्षेत्रबाट पलायन हुने तथा नयाँ राम्रा व्यक्तिहरु बैंकिङ्ग क्षेत्रमा आकर्षित नहुने जोखिमलाई समेत समयमा नै सम्बोधन हुने आशा बैंकरहरुमा देखिएको छ ।