लकडाउन खुलेसँगै होटल उपसमूहको सूचकमा उछाल, नेप्सेमा भने दोहोरो अंकको करेक्सन

0
Shares

सरकारले लकडाउन खुलाएसँगै शेयरमा सूचीकृत होटल उपसमूहको सूचकमा बुधबार उछाल आएको छ। शेयर बजारमा सूचीकृत तीनवटै होटलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने होटल उपसमूहको सूचक ८.९९ प्रतिशतले बढेर १६३०.८० बिन्दुमा पुगेको छ।

लकडाउनका कारण होटल बन्द भएर आम्दानीमा असर पुग्ने भएपछि शेयरमूल्य घटेका होटको शेयरमूल्य सरकारले साउन १५ गतेदेखि होटल खुला गर्ने निर्णय गरेसँगै होटको शेयरमूल्यमा एकाएक चमक आएको हो। यसअघि आम्दानी घट्ने भएपछि होछलको शेयरमूल्य अण्डरभ्यालु हुनेगरि घटेको थियो।

कारोबारमा आएका १२ उपसमूहको सूचकमध्ये होटल र म्युचुअल फण्डको सूचक बाहेक सबै सूचक राताम्मे भएको बजारमा अन्य र बैंकिङ्ग उपसमूहको सूचक सबैभन्दा धेरै करिब २ प्रतिशतले घटेका छन्।

जलविद्युत, वित्तको सूचक १ प्रतिशत धेरैले घट्दा निर्जीबन बीमा, उत्पादन, लघुवित्त र जीबन बीमा, ब्यापार, विकास बैंकको सूचक पनि १ प्रतिशतभन्दा कम अंकले ऋणात्मक भएका छन्।

बुधबार नेप्से सूचक १७.५० अंकले घटेर १४३२.४४ अंकमा झरेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ इन्डेक्स ३.९० अंकले घटेर ३०३.१४ अंकमा बन्द भएको छ। आज १८३ कम्पनीका ३५ लाख ८६ हजार कित्ता शेयर १ अर्ब ५३ करोड २५ लाख ११ हजार ७१६ रुपैयाँमा खरिद बिक्री भएका छन्। ति शेयरहरु ३८ हजार ९३८ पटक कारोबार भएका हुन्।

आज एनआईसी एशिया लघुवित्तको सबैभन्दा धेरै १८ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कम्पनीको २ लाख २१ हजार ८२६ कित्ता शेयर १८ हजार ६४५ पटक खरिद बिक्री भएको हो।

यसैगरी नेपाल पुनर्बीमा कम्पनीको १६ करोड २३ लाख ७६ हजार र नेपाल लाईफको ९ करोड ९२ लाख ६९ हजार रुपैयाँको कारोबार भयो। एनएमबि बैंक, हिमालयन डिष्टिलरी, एनआईसी एशिया बैंक, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, नबिल बैंक र एभरेष्ट बैंक पनि शीर्ष ठूलो कारोबार हुने दश कम्पनीमा समेटिएका छन्।

दशौं ठूलो कारोबार भएको एभरेष्ट बैंकको २ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आजको कारोबारमा ओरियण्टल, तारागाउँ र सोल्टी गरि तीनवटै होटलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। सुरुवाती कारोबारमा सर्किट लागेको एनआईसी एशिया लघुवित्तको कारोबारको अन्त्यमा आइपुग्दा ६.४८ प्रतिशतले बढेर प्रतिकित्ता ८०५ रुपैयाँमा कारोबार बन्द भएको छ।

 

श्रीराम सुगर मिल्स र हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशत धेरैले बढ्यो भने एक्सेल डेभलपमेन्ट बैंक, ग्लोबल आईएमई समुन्नत योजना १, शिखर इन्स्योरेन्स र लक्ष्मी इक्वीटी फण्डको इकाईको मूल्य पनि बढेका छन्।

उता नेपाल सेवा लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ७२ अर्थात ८.६१ प्रतिशतले घटेर ७६४ मा झरेको छ भने घलेम्दी, सिनर्जी पावर, जोशी, रिडी हाइड्रोपावर तथा मिथिला लघुवित्त र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशत धेरैले घट्न पुगेको छ।

आजको बजारबाट एनएमबि ५०, नबिल इक्वीटी फण्ड र नेपाल पुनर्बीमा कम्पनीका शेयरधनीले पनि गुमाएका छन्।

प्रकाशित मिति: ७ साउन २०७७, बुधबार  १५ : ४१ बजे