नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुले आफ्ना लगानीकर्तालाई प्राथमिकतामा नराख्दा लगानीकर्ताले दुःख पाउँदै आएका छन्।
एकाध कम्पनीले भने साधारण सभा बित्न नपाउँदै बोनस तथा नगद लाभांश लगानीकर्ताको खातामा पठाउने गरेका छन् । तर अझै पनि अधिकांश कम्पनीहरुले बोनस शेयर तथा नगद लाभांश लगानीकर्ताको खातामा पठाउन ढिलासुस्ती गर्दै आएका छन् ।
साना किसान विकास लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को लाभांश अझै लगानीकर्ताको खातामा पठाउन सकेको छैन। लघुवित्तले गत पुस २६ गते नै साधारण सभा सम्पन्न गरेको भए पनि ७ महिना बित्न लाग्दासम्म लगानीकर्ताले बोनस शेयर पाएका छैनन् । जसका कारण चाहेर पनि कतिपय शेयरधनीले बढेको बजारमा लघुवित्तको शेयर बिक्री गर्न सकेनन् ।
अर्को नजरबाट हेर्ने हो भने समयमा लघुवित्तको शेयर सूचीकरण भैसकेको अवस्थामा शेयरको तरलता बढ्न गई अहिले देखिएको अधिक उतार-चढावको अवस्था पनि नआउन सक्थ्यो।
साधारण सभा भएको महिनौंसम्म पनि लगानीकर्ताको खातामा लाभांश पठाउन नसक्नुमा कम्पनीको लापरवाही धेरै भएको नेपाल इनभेष्टर्स फोरमका निवर्तमान अध्यक्ष अम्बिकाप्रसाद पौडेल बताउँछन् । ‘कम्पनीले लगानीकर्ताको मर्म र भावना नबुझेको तथ्यलाई सबैले मनन गर्नुपर्छ । कम्पनीको समग्र सूचाङ्कमध्ये संस्थागत सूचाङ्क कमजोर भएको अवस्थालाई सबै लगानीकर्ताले ध्यानमा राख्नुपर्छ । साथै कम्पनी सचिव र प्रमुख कार्यकारी अधिकृतका बीचमा आपसी तालमेल हुन नसकेका कारण यस्ता घटना घटिरहेका छन् । कम्पनी सञ्चालक समितिले पनि पूँजी बजारको मर्मलाई बुझ्न नसकेको कम्पनीहरुले नै महिनौं बित्दा समेत लाभांश लगानीकर्तालाई दिन सक्दैनन्’ पौडेलले भने ।
लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को कमाईबाट लगानीकर्तालाई २७.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.४३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव २०७६ को पुस २६ गते नै साधारण सभाबाट अनुमोदन भईसके पनि २०७७ को मध्य साउनमा आईपुग्दा पनि लगानीकर्ताको खातामा बोनस शेयर पठाइएको छैन ।
यस सम्बन्धमा लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्टले केही दिनमा लगानीकर्ताको खातामा बोनस जम्मा गरिने बताएको छ ।
उता साना किसान लघुवित्तका उपप्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराईले प्रकृयागत ढिलासुस्तीका कारण शेयर लगानीकर्ताको खातामा पठाउन ढिलाई भएको बताए । साउन ८ गते बिहीबार नेपाल स्टक एक्सचेञ्जमा लघुवित्तको शेयर सूचीकरण गराई सकेको बताएका भट्टराईले केही दिनभित्रमा नै लगानीकर्ताको खातामा बोनस जम्मा हुने नोटबजारसँग बताए ।
लकडाउनका कारण पनि बोनस सूचीकरणमा केही ढिलाई भएको उनको भनाई छ । ‘नेप्सेमा शेयर सूचीकरण भैसकेको छ । सिडिएससीतर्फ केही काम बाँकी छ, त्यो पूरा हुनासाथ लगानीकर्ताको खातामा शेयर जम्मा हुन्छ’ भट्टराईले भने ।
लघुवित्तले गत आर्थिक वर्षको साधारण सभा बोलाउने समय हुन लागिसकेको छ । चालु आर्थिक वर्ष सुरु भएको दुई साता बित्न लागि सकेको अवस्थामा लघुवित्तका शेयरधनीले २ वर्ष पहिलेको बोनस पाउन नसकेका हुन् ।
यस सम्बन्धमा नेप्सेले चुस्त रुपमा कम्पनीले काम नगर्दा शेयर सूचीकरणमा ढिलाई भएको बताएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुली भन्छन् ‘अहिले धेरै जसो कम्पनीहरुले आफ्ना लगानीकर्ताको चाहनालाई ध्यानमा राखेर शेयर बजार सम्बन्धि कामहरु निर्धारित समयमा गर्दै आएका छन् । तर अझै पनि धेरै कम्पनीहरुले यो कामलाई प्राथमिकतामा राखेका छैनन् । साना किसान लघुवित्तको हकमा पनि त्यस्तो देखियो । नेप्से र सिडिएससीको काम एकसाथ गरेको भए सायद आज लगानीकर्ताको खातामा शेयर जम्मा हुन्थ्यो ।’
गत पुस मसान्तदेखि नै लघुवित्तले चुक्ता पूँजी १ अर्ब २ करोड रुपैयाँ रहेको वित्तीय विवरण सार्वजनिक गर्दै आईरहेको छ । तर लघुवित्तको शेयर संख्या भने अघिल्लो आर्थिक वर्षको चुक्ता पूँजी ७८ करोड ६० लाख रुपैयाँ बराबरको ७८ लाख ६० हजार कित्ता शेयर मात्र सूचीकरण भैरहेको छ।
प्रतिक्रिया