अजोड इन्स्योरेन्सको शेयर मंगलबारदेखि किनबेच गर्न सकिने, AIL संकेतमा कारोबार

0
Shares

अजोड इन्स्योरेन्सको आईपीओ गोलाप्रथाबाट १० कित्ता पाउन सफल भएका लगानीकर्ताले साउन १३ गते मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न पाउने भएका छन्।

कम्पनीले सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कम्पनीले सर्वसाधारणमा निकाष्शन गरेको साधारण शेयर सहित १ करोड कित्ता शेयर सूचीकृत गराएको छ। शेयर सूचीकरण सम्झौता पत्रमा स्टक एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरे। ।

सोमबार शेयर सूचीकरण भएसँगै कम्पनीको शेयर कारोबार मंगलबारदेखि खुला हुनेछ। असार २५ गते देखि २९ गतेसम्म ३० लाख कित्ता आईपीओ सर्वसाधारणमा बिक्री खुला गरेर साउन २ गते बाँडफाँड गरेको थियो। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ९७ रुपैयाँ देखि अधिकतम २९१ रुपैयाँसम्मको कारोबार रेञ्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको नेटवर्थदेखि तीन गुणासम्म कारोबार रेञ्ज प्रदान गर्ने गर्दछ।

यस्तै कम्पनीको शेयर कारोबारका लागि एआईएल (AIL) कारोबार संकेत प्रदान गरिएको छ। कम्पनीको धितोपत्र अब भोलिदेखि यहि कारोबार संकेतमा कारोबार हुनेछ।

कम्पनीले कूल ३० लाख कित्ता आईपीओ बिक्री खुला गरेकोमा ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्टाइएर बाँकी रहको २७ लाख ३० हजार कित्ता शेयर २ लाख ७३ हजार जना लगानीकर्तालाई गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको थियो।

कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आह्वान गरेको थियो ।

आईपीओपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुगेको छ । जसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर हिस्सा छ।

प्रकाशित मिति: १२ साउन २०७७, सोमबार  १६ : ११ बजे