असोज मसान्तसम्ममा असुल भएको ब्याज असारको आम्दानीमा लेखाङ्कन हुने


बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको असारसम्ममा उठ्नु पर्ने ब्याज आम्दानी असोजसम्ममा उठाइ असारको आम्दानीमा देखाउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै असारसम्म उठ्नुपर्ने ब्याज असोजसम्ममा उठाए पनि गत आर्थिक वर्षको आम्दानीमा देखाउन पाउने व्यवस्था गरेको हो ।

इजाजतपत्रप्राप्त संस्थाको लेखानीति बमोजिम लेखाङ्कन गरिएको कर्जाको ब्याज आम्दानीमध्ये यस बैंकको निर्देशनबमोजिम एक्युरल आधारमा लेखाङ्कन गरिने ब्याज आम्दानी बाहेकका अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकम प्रचलित नियमानुसारको आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित नाफालाई खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्नेछ ।

 उक्त ब्याज रकम प्राप्त हुन आएमा नियमनकारी कोषबाट सञ्चित मुनाफामा फिर्ता गर्न सकिनेछ । तर, आ .व २०७६÷७७ को लागि यस्तो अवधि २०७७ असोज मसान्तसम्म कायम गरिएको छ । उदाहरणका लागि २०७७ असार मसान्त भित्रमा असुल हुनुपर्ने ब्याज रकम २०७७ असोज मसान्तसम्ममा असुल भएमा त्यस्तो रकमलाई बैंक तथा वित्तीय संस्थाले २०७७ असार मसान्तको आम्दानीमा लेखाङ्कन गर्न सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।