नेप्सेमा थपियो २ लाख ४ हजार कित्ता बोनस

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को बोनस शेयर सूचीकृत भएको छ।

नेप्सेका अनुसार लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको २ लाख ४ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

महुली सामुदायिक लघुवित्तको पुस २६ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको २० प्रतिशत (२ करोड ४ लाख रुपैयाँ) बोनस शेयर र ११.५७९ प्रतिशत ( १ करोड १८ लाख १० हजार रुपैयाँ) नगद गरी कुल ३१.५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि लघुवित्तले पुस १४ गतेदेखि शेयरधनी दर्ता किताब बन्द गरेकाले पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लघुवित्तको लाभांश पाउनेछन्। नगद लाभांश भने शेयर रजिष्ट्रार सनराइज क्यापिटलबाट हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा गत माघ २ गतेदेखि नै आइपीएस मार्फत वितरण गरिसकेको छ।

हाल लघुवित्तको चुक्ता पूँजी १० करोड २० लाख रहेको छ। बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड २४ लाख रुपैयाँ पुगेको छ।

महुली लघुवित्त र नवकिरण लघुवित्तले माघ ८ गते एक आपसमा गाभिने सम्झौता गरेसँगै नेप्सेले माघ ९ गतेदेखि महुलीको शेयर कारोबार रोकेको हो।

मर्जरपछि बन्ने संस्थाको नाम महुली लघुवित्त रहने छ भने प्रधान कार्यालय हाल महुली लघुवित्तको मुख्य कार्यालय रहेको स्थान अर्थात सप्तरीमा रहनेछ। हालसम्म नवकिरण लघुवित्तले सर्वसाधारणमा शेयर जारी गरेको छैन।

डीडीए रिपोर्ट अनुसार स्वाप रेसियो कायम गर्ने सम्झौतामा मुल्याँकनकर्ताले संयुक्त मर्जर समितिलाई शेयर स्वाप अनुपात १०० बराबर ९५ रुपैयाँमा नघट्ने गरी कायम गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ साउन २०७७, मंगलबार  १२ : १७ बजे