मर्जरपछि आरम्भ चौतारी लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, बुधबारदेखि ACLBSL संकेतमा कारोबार खुल्ने


गत असार २२ गते औपचारिक रुपमा मर्जर पूरा गरी एकीकृत कारोबार सुरु गरेको आरम्भ चौतारी लघुवित्तको शेयर नेपाल स्टक एक्सेन्ज (नेप्से) मा सूचीकरण भएको छ । साविकको चौतारी लघुवित्त र आरम्भ लघुवित्त एकआपसमा मर्ज भएर नयाँ संस्थाका रुपमा आरम्भ चौतारी लघुवित्त बनेको हो ।

नयाँ संस्थाको चुक्ता पूँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँ पुगेको छ । अंकित मूल्य १०० रुपैयाँका आधारमा उक्त चुक्ता पूँजीबाट २६ लाख ३४ हजार ४८० कित्ता शेयरहरु दोस्रो बजारमा कारोबारका लागि सूचीकरण गरिएको हो ।

साविकका चौतारी र आरम्भ एक बराबर एकको शेयर आदान प्रदान हुने गरी एकआपसमा मर्जरमा गएका थिए । मर्जर पूरा भएपछि बनेको आरम्भ चौतारी लघुवित्तलाई नेप्सेले ACLBSL कारोबार संकेत दिएको छ ।

योसँगै साविकको चौतारी र आरम्भ लघुवित्तका शेयरधनीको हितग्राही खातामा पहिले मौज्दात रहेको शेयर संख्यामा कारोबार संकेत परिवर्तन भई शेयर जम्मा हुनेछ ।

मर्जरपछि बनेको नयाँ लघुवित्तको जगेडा कोषमा ७ करोड ६० लाख ६५ हजार रुपैयाँ सञ्चित भएको छ ।

८५ करोड ७३ लाख १५ हजार रुपैयाँ निक्षप संकलन गरी २ अर्ब ५० करोड ८० लाख ७४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको आरम्भ चौतारीको गत असार २१ गतेसम्मको खुद नाफा ३ करोड ८१ लाख ९७ हजार रुपैयाँ कायम भएको छ ।
मर्जरपछि लघुवित्तको ७७ शाखा तथा ३९१ कर्मचारी कायम भएका छन् । मर्जरपछि सदस्य संख्या ६२ हजार २०२ र ऋणीको संख्या ३३ हजार ६४ पुगेको बताइएको छ ।

यी दुई संस्थाले २०७६ साल जेठ २२ गते मर्जर जाने सहमति गरेका थिए । नेपाल राष्ट्र बैंकबाट गत फागुन १८ गते स्वीकृति पाएका थिए भने कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार १ गते स्वीकृति लिएका थिए । गत पुस ९ गते दुवै कम्पनीको साधारण सभाले मर्जर सम्वन्धि प्रस्ताव पारित गरेका थिए ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।